डोटीमा एकै दिन भारतबाट २८७९ जना भित्रिए, किट नहुँदा परीक्षणबिनै क्वारेन्टाइनमा राखियो

डोटी। कैलालीको त्रिनगर भन्सार कार्यालयको बाटो हुँदै हिजो साँझ मात्रै पाँच हजारभन्दा बढी नेपाली भित्रिएका छन्।

जसमा डोटी जिल्लाका मात्रै दुई हजार ८७९ छन्। उनीहरूलाई यहाँका नौ वटै स्थानीय तहले तयार पारेका ६७ क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।

घर फर्किएकाहरूमा शिखर नगरपालिकाका सबैभन्दा बढी छन्।

एकैपटक धेरैजना आएको र परीक्षणको लागि आरडीटी किट नभएका कारण उनीहरूलाई बिनाजाँच क्वारेन्टाइनमा राख्न थालिएको छ।

भारतबाट फर्किएकामध्ये दिपायल सिलगढी नगरपालिकामा ५६६, शिखर नगरपालिकामा ६३३, सायल गाउँपालिकामा २५९, केआइसिंह गाउँपालिकामा ५१४, जोरायल गाउँपालिकामा ६३, बोगटान फुड्सिल गाउँपालिकामा २१४, बडिकेदार गाउँपालिकामा २४२, आदर्श गाउँपालिकामा २८५ र पूर्वीचौकी गाउँपालिकामा १०३ गरेर कूल दुई हजार ८७९ लाई राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।

उनीहरू ७९ महिला, पुरुष दुई हजार ७८४ र बालबालिका १६ छन् ।

डोटीमा क्वारेन्टाइन बेड संख्या एक हजार २८३, आइसोलेसन शय्या संख्या ५१ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।

मलासीका अनुसार जिल्लाबाट हालसम्म ३६९ जनाको पिसीआर परीक्षणका लागि स्वाब स्कलन गरिएकोमा ३५९ जनाको रिर्पोट नेगेटिभ आएको छ।

१० जनाको रिर्पोट आउन बाँकी छ। रासस

प्रतिक्रिया दिनुहोस्