रुघा लाग्दा या सिँगान बग्दा यसकारण आत्तिनु पर्दैन

काठमाडौं। क्यालेन्डर हेर्दा जेठ महीनाको मध्यतिर पुगिसकियो। गर्मी चढिसक्यो। तर, वातावरण हेर्दा मौसम चिसो छ। पानी परिरहेछ। यस्तो बेला रुघा लाग्नसक्छ।

नाकबाट कहिले पातलो त कहिले बाक्लो सिँगान बग्नसक्छ। तर सिँगान बग्दैमा चिन्ता गर्नुपर्दैन। सिँगानले त विकार बाहिर फाल्न मद्दत पो गर्छ। कसरी ? त्यो बुझ्न सिँगानको काम बुझ्नुपर्छ।

रुघाको भाइरस वा धुलो धुँवा नाकभित्र प्रवेश गरेपछि नाकको नलीमा चिडचिडाहट पैदा हुन्छ। त्यससँग जुध्न नाकले सिँगान पैदा गर्न थाल्छ। सिँगानले ब्याक्टेरिया, भाइरसहरुलाई रोकेर बाहिर फाल्न मद्दत गर्छ।

सास लिने प्रक्रिया नाकबाट शुरु हुन्छ। नाकको माध्यमबाट लिएको हावा फोक्सोसम्म पुग्ने गर्छ। बाहिरबाट आएको हावालाई फिल्टर गर्ने र चिसो बनाउने काम नाकले नै गर्छ जसले गर्दा फोक्सोमा जाने हावा सफा हुन्छ। नाकको डाँडीमा भित्रपट्टि तरल पदार्थ निस्कासन गर्ने ग्रन्थी हुन्छ। त्यही ग्रन्थीले नै सिँगान उत्पादन गर्छ।

ब्याक्टेरिया, भाइरस, धुलोका कण छिरेपछि सिँगानमा टाँसिन्छन्। सिँगानमा हुने इन्जाइमले यी बाहिरी तत्व मार्ने काम गर्छ।

त्यस्तै नाकमा साना साना रौं (सिलिया) हुन्छन्। यीनै रौंले हानिकारक बाहिरी तत्वलाई बाटो फेरेर घाँटी हुँदै पेटमा पुर्‍याइदिन्छन्। पेटको एसिडले ती बाहिरी तत्वलाई नष्ट गरिदिन्छ।

त्यसैले सिँगान श्‍वासप्रश्‍वास प्रणालीको महत्वपूर्ण र आवश्यक हिस्सा हो। वायुमार्गलाई भिजाई राख्न पनि सिँगानको आवश्यकता पर्छ। सिँगानले हानिकारक कणलाई फोक्सोमा जान रोक्ने मात्रै नभई ब्याक्टेरियालाई नष्ट गर्न मद्दत गर्छ।

यदि सिँगान उत्पादनको मात्रा बढी भयो भने शरीरले यसबाट छुटकारा पाउन चाहन्छ र अतिरिक्त सिँगान बाहिर बगेर आउँछ। रुघा लाग्नु भनेको त्यही हो। त्यसैले रुघा लाग्दा प्रशस्त पानी पिउनु र आराम गर्नु उचित हुन्छ।

(क्लिभ्ल्यान्डक्लिनिकको सहयोगमा तयार पारिएको सामग्री)

प्रतिक्रिया दिनुहोस्