रुकुम घटनाः वडाध्यक्षसहित २० जनाविरुद्ध किटानी जाहेरी
काठमाडौं। १० जेठ साँझ पश्चिम रुकुममा जाजरकोटका तीनजनाको मृत्यु र तीनजना बेपत्ता हुने गरी भएको घटनामा मृतकका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका छन्।

रुकुमको चौरजहारी नगरपालिका-८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको हो।

घटनामा मृत्यु भएका भेरी नगरपालिका-४ जाजरकोटका नवराज विक र गणेशबहादुर बुढा मगर तथा चौरजहारी नगरपालिका-१ का टीकाराम सुनारका अभिभावकले आज जिल्ला प्रहरी कार्यालय जाजरकोटमार्फत् किटानी जाहेरी दिएका हुन्।

जाहेरी जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमलाई ‘फरवार्ड’ गरिएको जाजरकोट प्रहरी प्रमुख, डीएसपी किशोर श्रेष्ठले बताए।

भेरी नगरपालिका-४ का नवराज विक १७ जना साथीसहित १० जेठ साँझ मल्ल थरकी आफ्नी प्रेमिकाको गाउँ चौरजहारी नगरपालिका-८ पुगेका बेला गाउँलेको लखेटाइमा परेका थिए।

गाउँलेको लखेटाइपछि भेरी नदीमा परेर नवराजसहित टीकाराम र गणेशको मृत्यु भएको थियो। नवराजको शव १० जेठ राति, टीकारामको शव ११ जेठ साँझ र गणेशको शव १२ जेठ साँझ छुट्टाछुट्टै स्थानमा भेटिएको थियो।

उनीहरूसँगै नदीमा परेका भेरी नगरपालिका-४ का सन्दीप विक, भेरी नगरपालिका–११ का गोविन्द शाही र लोकेन्द्र सुनार अझै बेपत्ता छन्।

उनीहरूको खोजी भइरहेको जाजरकोटका डीएसपी श्रेष्ठले बताए।

बेपत्तालाई खोज्नका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीसमेत परिचालन गरिने भएको छ। गोताखोर टोली आइपुगेपछि भोलिदेखि परिचालन गरिने उनले बताए।

घटनामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय चौरजहारीले वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिएर जिप्रका पश्चिम रुकुमलाई बुझाएको छ।

प्रहरी नियन्त्रणमा रहेकाहरूमा नवराजकी प्रेमिका भनिएकी किशोरी र उनका बुबाआमा पनि छन्।

इप्रका चौरजहारीका प्रमुख, इन्स्पेक्टर धर्मसिंह बिष्टले किटानी जाहेरीका आधारमा जिल्लाको आदेशपछि थप अरूलाई पनि नियन्त्रणमा लिइने बताए।

प्रतिक्रिया दिनुहोस्