रुकुम घटनाप्रति सामाजिक सञ्जालमा पोखियो कलाकारको आक्रोश
काठमाडौं। रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानविन गर्न कलाकारहरूले माग गरेका छन्। प्रेमिकासँग बिहे गर्न गएका जाजरकोटका नवराज विक र उनका अन्य दुई साथीहरूको मृत्युबारे निष्पक्ष छानविन गरी दोषीमाथि कारवाहीको माग गर्दै कलाकारहरूले सामाजिक सञ्जालमा विभिन्न पोष्ट गरेका छन्।

गायक प्रकाश सपूतले सामाजिक सञ्जालमा कवितात्मक शैलीमा प्रश्न गर्दै लेखेका छन्, ‘सरकार, खुकुरी उदाएर निस्किएकै हो। जान्छु देशको सिमानामा र थापिन्छु। कि काट्छु कि काटिन्छु भनेर। तर, रुकुम पुगेर रोकिएँ। सरकार, त्यहाँ त झन् कत्रो ठूलो पर्खाल रैछ नी। जातिय विभेदको, वर्गिय विभेदको।”

दलित भएकैले प्रेम गर्दा मर्नुपर्ने नियति देशकै लागि लज्जास्पद भएको उनको भनाई छ। यस्ता घटनाहरूले समाज र कानूनलाई नै खिल्ली उडाइरहेको उनको धारणा छन्।

त्यस्तै अर्का कलाकार दिपकराज गिरीले आजको युगमा पनि प्रेम गरेको आरोपमा मारिएकोमा यसबाट बच्ने उपाय खोज्नुपर्ने बताएका छन्।

‘कोरोनाबाट बाँच्न के के उपाय गर्नु पर्छ त्यो त डब्लुएचओ, सरकार सबैले बताए’, दिपकले फेसबुकमा लेखेका छन्, ‘आजको युगमा पनि दलितहरू प्रेम गरेको आरोपमा मारिदैं छन्। यसबाट बच्ने उपाय चाहिं कस्ले बताउँछ होला ?’

त्यस्तै कलाकार तथा निर्देशक दिपाश्री निरौलाले उक्त घटना पढ्दा आफ्नो मन रोएको उल्लेख गरेकी छन्। सामाजिक सञ्जालमा रुकुम घटनाको समाचार सार्वजनिक गर्दै उनले फेसबुकमा स्ट्याटस लेखेकी छन्, ‘मन रोयो, कहिले अन्त्य हुन्छ?’

नायिका तथा मोडल रिमा विश्वकर्माले एक्काइसौं शताब्दीमा पनि सामाजिक विभेदका कारण कसैलाई कुटपिट गरेर मार्नु जातिय घटना नभई अमानवीय अपराध भएको धारणा राखेकी छन्।

उनले लेखेकी छन्, ‘कोरोना भाइरस त लाग्छ लाग्दैन थाहा छैन तर, विभेदको भाइरसले सदियौदेखी समाजलाई विरामी भने पक्कै बनाएको छ।’

महामारीको रुपमा फैलिएको अन्धविश्वास र कुरितीको समयमै कानुनी उपचार गर्न आवश्यक रहेको भन्दै त्यस्तो नभएको खण्डमा अझ धेरै निर्दोष नवराजहरूले अकाल मै ज्यान गुमाउने विश्वकर्माले उल्लेख गरेकी छन्।

नायिका केकी अधिकारीले जातीय विभेदको नाममा हत्या नै गर्ने नेपाली समाजको चर्को विरोध गरिन्। फेसबुकमार्फत् उनले भनिन्, ‘के फुर्ति लाउनु समाज भनेर? यस्तो छ हाम्रो समाज। यो हो वास्तविकता हाम्रो। परिवर्तित समाज रे। खै जसको लागि परिवर्तन हुनुपर्ने हो उस्को लागि जस्ताको तस्तै छ।’

यस्ता घटनाले यहि समाजको अंश भन्न नि लाज लाग्ने गरेको उनको तर्क छ। ‘छि! अझ ध्वस्त छ यो समाज। यही समाजको अंश भन्न नि लाज हुने। मानवता नभएको समाज। छि!’

त्यस्तै कलाकारहरू सिताराम कट्टेल, कुञ्जना घिमिरे, मनोज गजुरेल, नायिका लक्ष्मी बर्देवा, पूजा शर्मा, वर्षा सिवाकोटी लगायतले पनि घटनाको भत्र्सना गर्दै दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गरेका छन्। उनीहरूले यस्तो जातीय विभेद सधैका लागि अन्त्य गर्नका लागि आवश्यक कदम चाल्न समेत सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्