मानव अधिकार आयोगले भन्याे- ‘रुकुमपश्चिममा भएकाे घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याऊ’

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले रुकुमपश्चिममा भएको घटनाका दोषीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।

आयोगका प्रवक्ता सचिव वेद भट्टराईले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

अन्तर्जातीय विवाहको विषयलाई लिएर १० जेठमा रुकुमपश्चिममा भएको अमानवीय घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले दुःख व्यक्त गरेको छ।

जातीय विभेदको पराकाष्ठाको रूपमा देखिएको उक्त घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बूढाको हत्या तथा अन्य तीनजनाको स्थिति अज्ञात रहेको भन्दै आयोगले घटनाको छानबिन गर्न भनेको छ।

आयोगले उक्त घटना अमानवीय र आपराधिक भएको भन्दै सूक्ष्म र निष्पक्ष छानबिन तथा अनुसन्धान गरी घटनामा संलग्न प्रत्येकलाई कानूनी दायरामा ल्याई कारबाही गर्न आयोग नेपाल सरकार, स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको छ।

घटनाका सम्बन्धमा प्रभावकारी अनुसन्धानको लागि आयोगको कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाले स्थानीय प्रहरी र प्रशासनलाई आवश्यक पत्राचार गरेको र अनुगमन भइरहेको छ।

देशका विभिन्न जिल्लामा विगत केही समययता बढ्दै गएको जातीय विभेदको घटनाहरूप्रति शून्य सहनशीलता कायम गरी सबै घटनाहरूको सूक्ष्म र निष्पक्ष अनुसन्धान गरी शीघ्र कानूनी कारबाही गर्न तथा घटनामा जीवन गुमाउनेका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्