सप्तरीमा होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु, कोभिड-१९ परीक्षण गर्न स्वाब लिने तयारी

सप्तरी। होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप-११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ।

११ जेठ रातिदेखि उनलाई अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएको थियो।

स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

गर्भवती महिलालाई १००.२ डिग्री ज्वरो आएपछि ८ जेठमा राजविराजस्थित डा. विनिता यादवको क्लिनिकमा उपचारका लागि लगिएको थियो।

चिकित्सकले पाँच दिनपछि पुनः परीक्षणका लागि बोलाएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार महिलालाई पिसाबको सङ्क्रमण (युटीआइ) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए।

१८ हप्ताकी गर्भवतीलाई १० दिनदेखि ज्वरो आएको थियो। कोभिड-१९ सँग मिल्ने लक्षण देखिएको र होम क्वारेन्टाइनमा रहेकीले मृतकको स्वाब लिने तयारी भइरहेको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव डम्बर महतोले बताए।

मृतकको स्वाब सङ्कलनको रिपोर्ट नआउञ्जेल दाहसंस्कारका लागि प्रतिक्षा गर्न उपयुक्त हुने महतोले बताएका छन्।

मृतकको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन्। रासस

प्रतिक्रिया दिनुहोस्