बुन्डेसलिगाः उपाधि होड छिनोफानो गर्ने खेल
काठमाडौं। कोभिड-१९ महामारीका कारण दुई महीना स्थगित भएर शुरू भएपछि जर्मन बुन्डेसलिगामा आज ठूलो खेल हुँदैछ। शीर्ष स्थानका बायर्न म्युनिख र दोस्रो स्थानको बोरुसिया डर्टमण्डबीच हुने आजको खेलमा बुन्डेसलिगाको उपाधि होड पनि स्पष्ट बनाउनेछ। त्यसकारण यसलाई उपाधि दौड छिनोफानो गर्ने खेलभन्दा पनि फरक पर्दैन।
लिगमा अब सात खेल (२१ अंकको खेल) बाँकी हुँदा डर्टमण्ड अहिले शीर्ष स्थानको बायर्नभन्दा चार अंकले पछाडि छ। आज डर्टमण्डले विजय हासिल गरे अंकदूरी एक अंकमा छोट्याउने भने बायर्नले जिते डर्टमण्डलाई सात अंकले पछि पार्नेछ।
‘‘डर्टमण्डविरुद्धको खेल सधैँ विशेष हुन्छ। यो दुई राम्रो टीमबीचको खेल हो,’’ बायर्नका प्रशिक्षक हान्स फ्लिकले भने, ‘‘उपाधिका लागि यो निर्णायक साता हुनेछ।’’
महामारीका कारण दुई महीनासम्म लिग बीचमै स्थगित भएको थियो। १६ मे बाट पुनः शुरू भएको लिग खाली रंगशालामा खेलाइएको छ भने सामाजिक दूरीलगायत अन्य स्वास्थ्य निर्देशिका पालना गरिएको छ। त्यसैले बायर्न म्युनिखलाई आतिथ्यता प्रदान गर्ने डर्टमण्डलाई घरेलु समर्थकको साथ हुनेछैन।
८० हजार दर्शक क्षमताको डर्टमण्ड रंगशाला बुन्डेसलिगाको चीर प्रतिद्वन्द्वी अमनेसामने हुदाँ पनि रित्तो हुनेछ।
‘‘निश्चय पनि दर्शक विनाको खेल्दा भावनात्मक रूपमा भिन्न हुनेछ,’’ डर्टमण्डका खेलकुद निर्देशक माइकल र्जोकले भने, ‘‘हामीले पछिल्ला दुई खेलमा हासिल गरेको नतिजाले टीमको मनोबल बढाएको छ। टीम अहिले लयमा छ।’’
लिगको आधा सिजन सकिएयता बायर्न र डर्टमण्ड दुवै टीमले दशमध्ये नौ खेलमा विजय हासिल गरेका छन्। बायर्नले आरबी आइपजिगसँग गोलरहित बराबरी खेलेको थियो भने डर्टमण्ड बायर लेभरकुसेनसँग ४-३ ले पराजित भएको थियो।
‘‘हामी दुबै टीम अहिले लयमा छौं। र आजको खेलका लागि हामी तयार छौं,’’ बायर्नका फरवार्ड थोमस मुलरले भने। गत नोभेम्बरमा फ्लिकले बायर्नको प्रशिक्षण सम्हालेपछि मुलरले सात गोल गरेका छन् भने १३ गोलमा अवसर सिर्जना गरेका छन्।
लिग पुनः शुरू भएपछिको खेलमा डर्टमण्डले साल्केलाई ४-० हराएको थियो भने उल्फसबर्गविरुद्ध २-० को विजय हासिल गरेको थियो। त्यस्तै बायर्नले युनियन बर्लिनलाई २-० ले हराएको थियो भने इन्ट्राचट फ्रायङफर्टविरुद्ध ५-२ को विजय हासिल गरेको थियो।
बायर्नले २७ खेलमा ८० गोल गरिसकेको छ भने डर्टमण्डले ७४ गोल गरेको छ। बायर्नले १९७२ मा १०१ गोल गरेपछि बुन्डेसलिगामा भएको यो सबभन्दा धेरै गोल हो।
बायर्नको अहिलेको टीम प्रशिक्षक फ्लिकको प्रेरणामा अगाडी बढीरहेको छ भने डर्टमण्ड इर्लिङ हालान्डको आगमनबाट उत्साहित बनेको छ। नर्वेका १९ वर्षे फरवार्ड हालान्ड साल्जबर्गबाट डर्टमण्डबाट बुन्डेसलिगामा दश खेलमा दश गोल गरिसकेका छन्।
‘‘हालान्ड अर्को रोबर्ट लेवन्डस्की बन्न सक्छन्,’’ डर्टमण्ड र बायर्नका पुर्व प्रशिक्षक ओटमार हिट्जफिल्ड भन्छन्। बायर्नका लेवन्डस्कीले पछिल्लो ६ खेलमा १२ गोल गरिसकेका छन्। उनले पोल्यान्ड फरवार्ड लेवन्डस्कीले डर्टमण्डविरुद्ध अहिलेसम्म १६ गोल गरिसकेका छन्।
यसअघि नोभेम्बरमा बायर्नले डर्टमण्डविरुद्ध ४-० को नतिजा लेवन्डस्कीले दुई गोल गरेका थिए। नोभेम्बर यता हालान्ड र इमरे क्यानको आगमन पछि युवा खेलाडीले भरिएको डर्टमण्डको उत्साह बढेको छ।
‘‘उनीहरूभन्दा हामी राम्रो टीम हो,’’ डर्टमण्डका प्रशिक्षक लुसियन फाभ्रेले भने, ‘‘हामी फरक शैलीमा खेलिरहेका छौं, जसले हाम्रो टीमलाई नयाँ उचाई दिएको छ। हामीले गत विन्टरमा दुई खेलाडीले अनुबन्ध गरेका छौं र त्यसले हामीलाई थप उर्जा दिएको छ।’’
बुन्डेसलिगामा पछिल्लो समय बायर्नलाई टक्कर दिने डर्टमण्ड एक्लो टीम बनेको छ। डर्टमण्डले २०१२ मा उपाधि जितेको थियो। तथापी मुलर बायर्नले फेरी पनि उपाधि जित्नेमा ढुक्क छन्। उनी भन्छन्, ‘‘हामी पुन: म्युनिखमा उपाधि ल्याउन चाहन्छौं र यसमा हामी विश्वस्त छौं,’’ मुलरले भने।
प्रतिक्रिया दिनुहोस्