सिजन रद्दको निर्णय पुनर्विचार गर्न प्रधानमन्त्रीलाई लियोन अध्यक्षको आग्रह
काठमाडौं। फ्रेन्च लिग वनको क्लब लियोनका अध्यक्ष जीन-मिचेल औलासले फ्रान्सका अधिकारीहरूसँग फुटबल सिजन चाडै अन्त्य गर्ने निर्णयमाथि पुनर्विचार गर्न अनुरोध गरेका छन्।

कोभिड-१९ महामारीका कारण २८ अप्रिलमा फ्रेन्च लिग वान र लिग टू बीचमै रद्द गर्ने घोषणा गरिएको थियो।

फ्रान्सका प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई पठाइएको पत्रमा अध्यक्ष औलासले भनेका छन्, ‘‘फ्रान्स फुटबलले अविश्सनीय सामाजिक र आर्थिक संटक भोग्न सक्नेछ।’’

सिजन रद्द गर्ने घोषणा गर्दा लियोन सातौं स्थानमा थियो। त्यसकारण लियोनले युरोपियन क्लब प्रतियोगितामा सहभागिता जनाउन पाएन। यूरोपका ठूला पाँच लिगमध्ये सिजनको बीचमै रद्द गर्ने फ्रेन्च लिग वन एकमात्र लिग हो।

जर्मन बुन्डेसलिगा शुरू भइसकेको छ। बुन्डेसलिगामा दुई चरणका खेल सम्पन्न भइसकेका छन्। स्पेन, इटली र इङ्ल्यान्डमा पनि फुटबल लिग जुनबाट शुरू गर्ने तयारी भइरहेको छ। यूरोपमा नेदरल्यान्ड र बेल्जियमले पनि सिजनको बीचमा लिग रद्द गरेका थिए।

‘‘बुन्डेसलिगका खेल १६ मेबाट शुरू भएका छन्। स्पेनमा पनि ८ जुनबाट शुरू गर्न सकिने भनिएको छ। इटली, रूस र पोर्चुगलमा पनि सामुहिक प्रशिक्षण शुरू भएका छन्। इङ्ल्यान्डमा १९ जुनपछि खेल शुरू गर्ने तयारी छ,’’ औलासले भनेका छन्, ‘‘फ्रान्सले मात्र कसरी यति चाडै रद्द गर्न सकिन्छ र यहाँको व्यवसायिक फुटबललाई कसरी अवमुल्यन गर्न सकिन्छ?’’

फ्रान्स सरकारले २ जुनबाट लकडाउन खुकुलो पार्ने घोषणा गर्ने अनुमान गरिएको छ।

‘‘पछिल्ला धेरै घटनाक्रमले आशा जगाएको छ। ताकी फ्रान्सले पुनः गति लिन सक्दछ,’’ औलासले भनेका छन्, ‘‘के हामी कल्पना गर्न सक्छौं की २ जुन पनि फ्रान्सेली फुटबलबारे गल्ति सुधार्न र स्वास्थ्य निर्देशिका अनुसार प्रशिक्षण शुरू गर्ने अवसर हुनसक्छ र जुलाई वा अगष्टमा सिजन सक्ने गरी २०१९/२० को सिजन पुन: शुरू हुने आशा गर्न सकिन्छ?’’

गत साता लियोनसहित एमिएन्स र टोउलोउजले लिग वानको सिजन चाडै अन्त्य गर्ने निर्णयको विरोध गर्दै अपील गरेका थिए।

प्रतिक्रिया दिनुहोस्