१३ दिनदेखि उद्धारको पर्खाइमा मुगुको एक परिवार

कैलाली। मुगुको खत्याड गाउँपालिकाका दीपक परियार १३ दिनदेखि पत्नी र चार महिनाको सन्तानसहित उद्धारको पर्खाइमा धनगढीमा अलपत्र परेका छन्।

उनीसँगै भारतबाट आएकाहरू सबै घर पुगिसके। उनी भने धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा बसिरहेका छन्।

“सबैको उद्धार भयो, मेरो भएन,” परियारले भने, “कर्णाली प्रदेशका मुख्यमन्त्री र खत्याड गाउँपालिकाका अध्यक्षलाई पनि पटक-पटक आग्रह गरिसकें। तर उद्धारका लागि कसैले वास्ता गरेनन्।”

गाउँपालिकाका अध्यक्षले त फोन पनि उठाउन छाडेको उनको गुनासो छ।

भारतको मथुरामा काम गर्दै आएका दीपक लकडाउनपछि कामबाट निकालिए। उनी भन्छन्, “सेठले कामबाट निकालिदिएपछि बेखर्ची भएँ। त्यहाँ बस्न सक्ने अवस्था रहेन।”

मथुराबाट दुई दिनमा भारतको पलिया आइपुगेका परियारले त्यहाँ १३ दिन क्‍वारेन्टाइनमा बिताए। पलियाबाट धनगढीसम्म आउन पाए पनि घर फर्किन पाएका छैनन्, उनले।

उनको गाउँपालिका बाजुरासँग जोडिएको छ। उनलाई घर जान बाजुराको बाटो भएर छोटो र सहज हुन्छ। तर, बाजुराको गाउँपालिकाले फरक जिल्लाको भन्दै उनलाई लैजान मानेन।

“कर्णाली राजमार्ग भएर जाँदा निकै लामो र कष्टकर यात्रा हुन्छ,” परियारले भने। उनले छिटोभन्दा छिटो उद्धार गरिदिन कर्णाली प्रदेश सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्