कोभिड-१९ विरुद्धको अर्को खोप मानिसमा परीक्षण गरिँदै
वासिङ्टन। अमेरिकाको मेरिल्यान्डस्थित बायोटेक्नोलोजी कम्पनी नोभाभाक्सले कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण थालेको छ।

त्यसका लागि एक सय ३० जनालाई सहभागी गराउने कम्पनीको योजना छ।

कोभिड-१९ विरुद्धको खोप परीक्षण शुरु गर्ने १० औं कम्पनी बनेको छ, नोभाभाक्स। कम्पनीको परीक्षणका लागि खोप लगाउने पहिलो स्वयंसेवक अस्ट्रेलियाका छन्।

खोपको नाम ‘एनभीएक्स-कोभ २३७३’ जुराइएको छ। कम्पनीका अनुसार प्रि-क्लिनिकल परीक्षणमा यस खोपबाट शरीरमा ‘एन्टी बडी’ प्रशस्त उत्पादन भएको पाइएको छ।

“यो परिणामबाट मानिसको शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउन कोभिड-१९ को महामारी नियन्त्रणमा लिन यो खोप प्रभावकारी हुने देखिएको छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आगामी जुलाईसम्ममा प्रारम्भिक सुरक्षा र प्रभावकारिताको परिणाम सार्वजनिक गर्ने कम्पनीको तयारी छ। सकारात्मक परिणाम देखियो भने परीक्षणको दोस्रो चरण शुरु हुनेछ। र, बढीभन्दा बढी मुलुकमा यसको परीक्षण गरिनेछ।

सबै परीक्षणबाट सकारात्मक नतिजा आयो भने यस वर्ष १० करोड डोज र सन् २०२१ मा एक अर्ब डोज खोप उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका प्रवक्ताले सीएनएनसँग बताए। उनका अनुसार खोपको उत्पादन सार्वजनिक, निजी र परोपकारी संस्थाहरूको साझेदारीमा गर्ने योजना छ।

प्रतिक्रिया दिनुहोस्