मोदीको दोस्रो कार्यकालको पहिलो वर्षगाँठमा भर्चुअल र्याली र कन्फरेन्स

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल वर्षदिन पुगेको अवसरमा देशभर भर्चुअल र्‍यालीहरू आयोजना हुने भएका छन्।

देशभर सात सय ५० भन्दा बढी भर्चुअल र्‍यालीको आयोजना गरिने सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले जनाएको छ।

त्यसबाहेक देशभर एक हजारवटा भर्चुअल कन्फरेन्स पनि आयोजना गर्ने उक्त पार्टीको योजना छ।

डिजिटल प्लेटफर्महरू मार्फत ‘आत्मनिर्भर भारत अभियान’का संकल्पलाई १० करोड घरमा पुर्‍याउने योजना रहेको भाजपाको भनाइ छ।

३० मे २०२० मा मोदी सरकार आफ्नो दोस्रो कार्यकालको पहिलो वर्ष पूरा गर्दैछ। वार्षिकोत्सव मनाउने क्रममा ठूलो परिमाणमा मास्क र स्यानिटाइजर घरघरमा पुर्‍याउने योजना पनि भाजपाको छ।

कोभिड-१९ को प्रसार तीव्र गतिमा रहँदा यस वर्ष भाजपाले डिजिटल प्लेटफर्ममा वार्षिकोत्सव मनाउने तयारी गरेको हो।

भारतमा कोरोना भाइरसका संक्रमित एक लाख ३८ हजार आठ सय ४५ जना पुगेका छन्। तीमध्ये चार हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

“सरकारको दोस्रो कार्यकालको पहिलो वर्षगाँठ मनाउने क्रममा भौतिक दूरीको पूर्ण पालना गरिनेछ,” भाजपाले भनेको छ।

प्रतिक्रिया दिनुहोस्