कोरोनामुक्त भएर घर फर्किएकी नर्सको ढाडस- 'मनोबल उच्च पार्नुस्, कोरोनाले केही गर्न सक्दैन'

काठमाडौं। कोरोनामुक्त भएकी कपिलवस्तु अस्पतालमा कार्यरत नर्सले कोभिड-१९ सँग लड्न उच्च मनोबल आवश्यक हुने बताएकी छन्।

१४ दिन अस्पतालको बसाइपछि हिजो, १२ जेठमा डिस्चार्ज भएर घर फर्केकी उनले भनिन्, "आफ्नो शरीरमा रोगसँग लड्ने क्षमता बढाउनुस्, हौसला दिनुस्। कोरोनाले केही गर्न सक्दैन।"

उनले अस्पतालको आइसोलेसनमा बस्दा आफूमा कोभिड-१९ का केही लक्षण नदेखिएको भन्दै औषधि समेत सेवन गर्नु नपरेको बताएकी छन्। घरपरिवार साथीसंगीलाई मनोबलले नै कोरोना जितेर आएको भन्दै उनले आफ्ना अनुभवहरू बाँडेर उत्प्रेरणा छरिरहेकी छिन्।

गत ३० वैशाखमा कोभिड-१९ रिपोर्ट पोजिटिभ देखिएपछि कपिलवस्तु नगरपालिका तौलिहवा निवासी कपिलवस्तु अस्पतालमा कार्यरत २५ वर्षीया नर्सलाई आइसोलेसनमा राखिएको थियो।

उनी नेपालमा कोरोना संक्रमित हुने पहिलो स्वास्थ्यकर्मी हुन्।

१ र ४ जेठमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले जानकारी दिए। "थप केही दिन घरमै क्‍वारेन्टाइमा बस्‍ने गरी पठाएका छौं", थापाले भने।

ती स्टाफ नर्ससहित कपिलवस्तुका ११ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। १० जना कोरोना अस्पताल बुटवलको आइसोलेसनमा थिए। उनीहरूलाई ११ जेठ राति डिस्चार्ज गरिएको र सबैको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्