अमेरिकामा ‘मेमोरियल डे’को मस्ती बन्यो चिन्ताको कारक

वासिङ्टन। यस सप्ताहन्तमा अमेरिकी नागरिकहरूले जे गरे, त्यसले अमेरिकाभर चिन्ता बढाइदिएको छ।

‘मेमोरियल डे विकेन्ड’ मनाउने उद्देश्यले सयौं अमेरिकी नागरिक घरबाट निस्किए। अनि कोभिड-१९ को प्रसार रोक्न बनाइएको गाइडलाइन्सको धज्जी उडाउँदै ठूल-ठूला समूहमा समुद्री किनार, ताल र नदी किनारमा पार्टी गरे।

हरेक वर्ष मे महीनाको अन्तिम सोमबार अमेरिकामा ‘मेमोरियल डे’ मनाउने गरिन्छ। त्यसदिन अमेरिकाभर छुट्टि दिइन्छ।

मानिसहरू त्यस दिन समुद्री किनारमा जम्मा भएर अमेरिकी सेनामा सेवा गरिसकेका मानिसको सम्झना गर्ने गर्छन्। यस उत्सवलाई अमेरिकामा गर्मीको शुरु भएको प्रतीक पनि मानिन्छ।

फ्लोरिडाको डेटोना बिचमा अनधिकृत पार्टीका लागि जम्मा भएका सयौं मानिसलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पार्नु पर्‍यो। मिसौरीका कतिपय बार र रेस्टुराँमा जम्मा भएको भीडले भौतिक दूरीको नियम तोडेको पाइयो।

“यो साह्रै चिन्ताको विषय हो,” यी सबै घटनालाई नियालिरहेका अमेरिकाको कोरोना टास्क फोर्सका प्रमुख डा. डेबोरा बिक्र्सले भने, “भौतिक दूरी जतिबेला पनि जरुरी छ भन्‍ने हामीले दिमागमा राख्नु आवश्यक छ। यतिबेला त झनै यो अति महत्वपूर्ण छ। यदि तपाईं भौतिक दूरी कायम गर्न सक्नु हुन्‍न भने पनि घरबाहिर जाँदा कम्तिमा मास्क त पहिरिनूस्।”

यस्तो जोखिमपूर्ण व्यवहार साह्रै गैरजिम्मेवार र खतरनाक भएको लुइस शहरका मेयर लायडा क्रुसनले प्रतिक्रिया दिइन्। “अब यी मानिस सेन्ट लुइस शहरमा र मिसौरीका अलग-अलग स्थानमा फर्किने छन्,” उनले भनिन्, “र, पूरै देशमा चिन्ता बढाउने छन्।”

तीमध्ये कतिपयमा संक्रमण देखियो भने पूरै अस्पतालमा भीड बढ्ने उनको भनाइ छ।

स्थानीय सञ्‍चारमाध्यमहरूका अनुसार फ्लोरिडामा त यति ठूलो भीड जम्मा भएको थियो कि प्रशासनलाई पार्किङ नै बन्द गर्नु परेको थियो।

क्यालिफोर्नियामा पनि समुद्री तटमा मानिसहरू मस्ती गरिरहेको देखियो। तर, प्रशासनको कडाइका कारण त्यहाँ जम्मा भएका मानिसले मास्क लगाएका थिए भने भौतिक दूरीको पनि ख्याल गरिरहेका थिए।

कोभिड-१९ का कारण संसारमा सबैभन्दा बढी मृत्यु अमेरिकामै भएको छ। र, त्यहींका नागरिकमा चरम अराजकता पनि देखिएको छ। १६ लाख ८० हजार अमेरिकीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। तीमध्ये ९८ हजार आठ सय १५ जनाको मृत्यु भइसकेको छ।

त्यसका बावजुद अमेरिकाका सबै ५० वटा राज्यमा लकडाउनलाई आंशिक रूपमा हटाइएको छ।

प्रतिक्रिया दिनुहोस्