रुकुम घटना : उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

काठमाडौं। अन्तरजातीय बिहेको विषयलाई लिएर रुकुम पश्चिममा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ।

कर्णाली प्रदेश सभा सदस्यहरूले उच्चस्तीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा तीजनाको मृत्यु र तीनजा सम्पर्कविहीन हुनेगरि भएको घटनाको अनुसन्धान गर्न प्रदेश सभाका आवाज उठेको हो।

प्रदेश सभाको छैटौँ अधिवेशनको दोस्रो बैठकमा आज विशेष समयमा बोल्ने सदस्यहरूले घटनाको अनुसन्धान गरी दोषीलाई कडा कारबाहीको सिफारिस गर्न प्रदेश सरकारसंँग माग गरेका हुन्।

प्रदेश सभा सदस्य सीता नेपालीले रुकुम घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्न अविलम्ब गर्न जोड दिइन्।

घटना भएको तीन दिन बितिसक्दा बेपत्ताहरूको खोजीमा बेवास्ता गरिएको भन्दै उनले आपत्ति जनाइन्।

रुकुम पश्चिम क्षेत्रका प्रदेशसभा सदस्य रातो कामीले तत्काल संसदीय समिति गठनको माग गरे।

पे्रम प्रसङ्ग र अन्तरजातिय बिहेकै कारण घटना भएकाले यसबाहेक अन्य कुनै कारण नभएको उनले बताए।

प्रदेशसभा सदस्यहरू पद्मा खड्का, कौशिलावती खत्री, दानसिंह परियार र गणेशप्रसाद सिंहलगायतले घटनाको निन्दा गरेका छन्।

प्रेमिका ‘भगाउने’ भनेर १७ जना साथी लिएर १० जेठ साँझ सोती पुगेका भेरी नगरपालिका–४ जाजरकोटका २१ वर्षीय नवराज बिकको केटीका आफन्तको लखेटाइपछि मृत्यु भएको थियो।

उनीसँगै पुगेका चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढा मगरको शव फेला परिसकेको छ।

नदीमा बेपत्ता भएका भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही, र सन्दीप विक सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक महेशकुमार आचार्यले बताए।

इलाका प्रहरी कार्यालय चाैरजहारीले वडाध्यक्ष डम्बरबहादुर मल्ल, किशाेरीका बुवाआमासहित १२ जनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

मृतक तीन जनाको शव पोस्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ। शवको भोलि पोस्टमार्टम गर्ने तयारी छ।

यो पनि पढ्नुहोस

भेरी नदीमा बेपत्ता जाजरकोटका एकजनाको शव भेटियो, तीन अझै सम्पर्कविहीन

अन्तरजातीय विवाह गर्न खोज्दा गयो दुई युवाको ज्यान, चारजना नदीमा बेपत्ता

प्रतिक्रिया दिनुहोस्