एसईई दिन नपाएका विद्यार्थीको शैक्षिक वर्ष खेर जान दिन्नौंः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा तत्काल गर्न नसकिने जनाएका छन्।

आज राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले परीक्षाको एकदिन अगाडि रोक्नु परेको एसईई तत्काल गर्न सकिने अवस्था नरहेको स्पष्ट पारेका हुन्।

तर, सरकारले विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिने गरी शिक्षा मन्त्रालयले योजना ल्याउने बताए।

“महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुनुभन्दा दुई दिन अगाडि स्थगित गर्नु परेको थियो। यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन्। अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान छैन। तसर्थ, एसईईका परीक्षार्थी विद्यार्थीहरूको सिङ्गो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने छ” प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भनेका छन्।

कोरोना महामारीका कारण रोकिएका विद्यालय सञ्चालनका विषयमा पनि मन्त्रालयले नीतिगत व्यवस्था गर्न लागेको प्रधानमन्त्रीले बताए।

मन्त्रालयले भर्चुअल कक्षाको प्रयोग गरी सबै विद्यालयहरूमा नयाँ शैक्षिक वर्ष अन्तर्गतको पठन-पाठन सञ्चालनको काम अघि बढाउने प्रधानमन्त्रीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्