विश्वका उत्कृष्ट २० क्रिकेटरकाे सूचीमा सन्दीप र कुशल
काठमाडौं। युनाइटेड अरब इमिरेट्स (यूएई)को द नेशनल डिजिटल पत्रिकाले निकालेको विश्वका २० वर्ष मुनिका उत्कृष्ट २० क्रिकेटरको सूचीमा नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडी परेका छन्।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउण्डर कुशल मल्लले उक्त सूचीमा स्थान बनाएका हुन्। द नेशनलले आज विश्वका २० वर्ष मुनिका उत्कृष्ट २० खेलाडीको तस्वीर सार्वजनिक गरेको हो।

उक्त तस्वीरको सूचीमा १९ वर्षे सन्दीप तेस्रो स्थानमा छन्। १६ वर्षे कुशल मल्ल भने १५ औं स्थानमा छन्। सूचीमा टेष्ट राष्ट्रका खेलाडीहरूको बाहुल्यता छ। एसोसिएट राष्ट्रबाट सन्दीप र कुशलसँगै स्कटल्यान्डका टम म्याकिन्टोस र यूएईका जोनाथन फिगी छन्।

द नेशनलले पाकिस्तानका १७ वर्षे बलर नासीम शाहलाई शीर्ष स्थानमा राखेको छ भने भारतका १८ वर्षे यशस्वी जैसवाललाई दोस्रो स्थानमा राखेको छ।

सन्दीप तेस्रो स्थानमा रहँदा अफगानिस्तानका १९ वर्षे मुजिब रहमान चौथो स्थानमा छ। बंगलादेशका अकबर अली पाँचौं स्थानमा छन्।

उक्त सूचीमा भारतबाट चार खेलाडी समावेश छन् भने पाकिस्तान र बंगलादेशबाट समान तीन खेलाडी छन्। नेपाल र अफगानिस्तानका समान दुई, वेष्ट इन्डिज, अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ल्यान्ड, युएई र स्कटल्यान्डका एक/एक खेलाडी समावेश छन्।

प्रतिक्रिया दिनुहोस्