कपिलवस्तुकी संक्रमित नर्ससहित ११ जना कोरोनामुक्त

चन्द्रौटा। कपिलवस्तुमा स्टाफ नर्ससहित ११ जना कोरोनामुक्त भई घर फर्किएका छन्।

गत ३० वैशाखमा कोभिड-१९ रिपोर्ट पोजिटिभ देखिएपछि कपिलवस्तु नगरपालिका तौलिहवा निवासी कपिलवस्तु अस्पतालमा कार्यरत २५ वर्षीया नर्सलाई आइसोलेसनमा राखिएको थियो।

नर्सलाई संक्रमण देखिएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० जनाको पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो।

ती नर्सको दोस्रो र तेस्रो पटक १ र ४ जेठमा गरिएको गते दुई पटकको थ्रोट स्वाब नमूनाको रिपोर्ट नेगेटिभ देखिएपछि १४ दिनमै कोरोना जित्न सफल भएको अस्पतालका डा. किशोर बञ्जाडेले बताए।

उनलाई थप एक साता होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ।

हिजो कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका तीन/तीन र बुद्धभूमि नगरपालिकाका एकजनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो।

कपिलवस्तुमा आजसम्म ८३ जना कोरोना संक्रमित फेला परेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्