संसारको सबैभन्दा गहिरो सुनखानी बन्द
जोहानेसबर्ग। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा दक्षिण अफ्रिकास्थित संसारको सबैभन्दा गहिरो सुनखानी बन्द भएको छ।

दक्षिण अफ्रिकाको गौटेङ प्रान्तस्थित पोनेङ सुनखानी बन्द भएको हो। खानीमा कार्यरत एक सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि काम बन्द गरिएको हो।

बीबीसीका अनुसार पोनेङ संसारको सबैभन्दा गहिरो सुनखानी हो, जुन एक महीना बन्द रहेर गत अप्रिलमा खुलेको थियो। जमिनको सतहबाट करिब चार किलोमिटर गहिरो छ, यो सुनखानी।

खानीका कामदारमा कोभिड-१९ पोजिटिभ पाइएको छ तर रोगका कुनै लक्षण देखिएका छैनन्।

खानीको सञ्चालक कम्पनी एंग्लो गोल्ड अशान्तिले संक्रमित सबैलाई आइसोलेसनमा राखिएको बताएको छ। गत साता पहिलोपटक कोरोना संक्रमित देखिएपछि ६ सय ५० जना मजदुरको परीक्षण गरिएको थियो। तीमध्ये एक सय ६४ जनामा संक्रमण देखिएको हो।

दक्षिण अफ्रिकामा २१ हजार तीन सय ४३ जनामा कोभिड-१९ पोजिटिभ पाइएको छ। तीमध्ये चार सय सात जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्