भारतमा अलपत्र नेपालीको गड्डाचौकी नाकाबाट उद्धार गरिँदै

भीमदत्तनगर। कञ्चनपुर प्रशासनले भारतीय बजारमा अलपत्र परेका नेपालीहरूको आज बिहानदेखि उद्धार गर्ने भएको छ।

हिजो, ११ जेठमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर उनीहरूलाई प्रवेश गर्न दिने निर्णय गरेको हो।

यसअघि ९ चैतसम्म भारतका विभिन्न शहरबाट करीब ७० हजार नागरिक यो नाकाबाट भित्रिएका थिए ।

नेपाल-भारत सीमा सिल गर्नुका साथै लकडाउन थालिएयता यहाँको दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी र पुर्नवासलगायतका क्षेत्रमा लुकीछिपी आउने क्रम रोकिएको छैन।

“दशगजामा आएर नेपाली अलपत्र पर्न थालेपछि व्यवस्थित तवरले उद्धार गरी ल्याउन गड्डाचौकी नाकाबाट आउन दिने निर्णय गरिएको हो”, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने, “गड्डाचौकीमा स्वास्थ्य जाँचदेखि आवागमन व्यवस्थित बनाउन तयारी गरिएको छ।”

बिहानैदेखि सेना र स्वास्थ्यकर्मीको चिकित्सकसहितको टोलीले स्वास्थ्य जाँच गर्नुका साथै सशस्त्र र नेपाल प्रहरीले लाइन व्यवस्थापनलगायतमा खटिने तयारी प्रशासनले गरेको जनाएको छ।

भारतमा यातायात शुरू गरिएसँगै भएसँगै यहाँका नाकामा नेपाली अलपत्र पर्ने क्रम केही दिनयता बढ्दै गएको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि औषधोपचारबाहेकका सबै सेवा बन्द गर्ने निर्णयसमेत गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्