मोरङका राजनीतिक दलको सुझाव- ‘भारतसँग सीमा जाेडिएका स्थानीय तहमा दुई हजार क्षमताको क्वारेन्टाइन बनाऊ’

विराटनगर। मोरङका राजनीतिक दलहरूले भारतसँग सीमा जोडिएका सबै स्थानीय तहमा कम्तीमा दुई हजार बेड क्षमताको क्वारेन्टाइन निर्माण गर्न प्रदेश १ सरकारलाई सुझाव दिएका छन्।

भारतमा रेल र बस सेवा सञ्‍चालन भएसँगै सीमावर्ती क्षेत्रबाट नेपाली भित्रिने क्रम बढ्न थालेपछि दलहरूको संयुक्त बैठकले पीसीआर परीक्षणको दायरा बढाउन पनि अनुरोध गरेका छन्।

लकडाउनका बेला नागरिकका समस्या समाधान गर्न र कोरोना नियन्त्रण तथा उपचारको लागि संयुक्त कदम चाल्न पनि दलहरू सहमत भएको नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले जानकारी दिए।

नेपाल कम्‍युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी, राप्रपा र राजपाको जिल्ला नेतृत्वको संयुक्त बैठकले किसान उत्पादन गरेको खाद्यान्न तथा फलफूल बजारसम्म ढुवानी र बिक्रीका लागि सहज बनाउन सहयोग गर्ने, खाद्यान्न उद्योगहरू सञ्चालन गराउन सहयोग गर्ने र तरकारीजन्य उत्पादनहरुको बिक्री सहज बनाउने पनि निर्णय गरेको छ।

मल, बीउ र विषादीको व्यवस्था गराउन सहयोग गर्ने, बाँझो जमिनमा अनिवार्य खेती गर्न लगाउने, स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर विकास निर्माणको कामलाई निरन्तरता दिन सहयोग गर्नुपर्नेमा पनि दलहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

नेकपाका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार भारत र विदेशमा रहेका नेपालीहरूलाई प्रशासनको समन्वयमा घर फर्काउन प्रदेश र संघीय सरकारसँग आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्