भोलिदेखि गड्डाचौकी नाका खुल्ने, लकडाउनमा थप कडाइ

कञ्चनपुर। भारतका विभिन्न ठाउँमा अलपत्र परेकाहरूलाई भोलिदेखि उद्धार गरिने भएको छ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले गड्डाचौकी नाका हुँदै उनीहरूको उद्धार गर्ने निर्णय गरेको हो।

गड्डाचौकी नाका पूर्णरूपमा बन्द हुँदा लुकीछिपी नेपालीहरू भित्रिन थालेका छन्। त्यो अवैध कार्य रोक्न भन्दै गड्डाचौकी नाका खोलेर उनीहरूको उद्धार गर्न लागिएको हो।

उद्धार गरिएकाहरूको स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्थायी क्षेत्रमा पठाइने प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए। “दोधाराचाँदनी ब्रह्मदेव, टनकपुरलगायत अवैध नाका हुँदै आउने क्रम बढिरहेको छ। त्यसलाई रोक्न तथा कोरोना संक्रमण न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको हो”, प्रजिअ खतिवडाले भने।

उनीहरूको उद्धार गर्दा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै लकडाउनमा पूर्णतः कडाइसमेत गरिने भएको छ।

अत्यावश्यक औषधोपचारबाहेक तरकारी बजार, फलफूल, खाद्यान्न पसलहरू, बैंकलगायत सम्पूर्ण व्यापार, व्यवसाय अर्को व्यवस्था नभएसम्मका लागि पूर्णतः बन्द गरिएको खतिवडाले बताए। अत्यावश्यक औषधि उपचारको कामबाहेक कुनै पनि व्यक्ति सुरक्षाकर्मीको परामर्शबिना घरबाट बाहिर निस्किएको खण्डमा कानूनबमोजिम कारबाही गरिने उनको भनाइ छ।

कञ्चनपुरका विभिन्न नाका हुँदै आजसम्म सात हजार २८९ जना नेपाल भित्रिएका छन्। विशेषगरी दोधाराचाँदनी नाका हुँदै नेपाल भित्रिनेको संख्या ह्वात्तै बढेको छ। स्वास्थ्य परीक्षणबिना घर फर्किनेहरूको लर्को लाग्न थालेपछि प्रशासनले गड्डाचौकी नाका खोलेर उनीहरूको उद्धार गर्ने निर्णयमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस्