विवादित अभिव्यक्ति दिएपछि वर्षाले मागिन् माफी

काठमाडौं। नेपालको पूर्ण नक्शा जारी भएसँगै भारतीय मिडियाहरू नेपाल र नेपालीमाथि खनिएका छन्। उनीहरूले नेपालबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नुका नेपालको समर्थन गरेकी बलिउड अभिनेत्री मनिषा कोइरालाविरुद्धसमेत लागेका छन्।

नेपालमा भने मनिषाको समर्थन भइरहेको छ। सम्पूर्ण नेपाली सिने जगत नै मनिषाको समर्थन र नेपालको पक्षमा खुलेर आवाज उठाइरहेका बेला वर्षाले भने यो विषय वार्ताको टेबलमा बसेर समाधान हुने बताएकी छन्।

सार्वजनिक भएको भाइरल भिडिओ क्लिपमा उनले अब आफूलाई भारतीय साथीहरूसँग कसरी ‘फेस’ गर्ने भन्नेमा चिन्ता भएको जनाएकी छन्।

भिडिओ क्लिपमा भन्छिन्,“देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरूले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन। यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो। यहाँ त दुवैतर्फका पत्रकारहरू मिलेर झगडा पारिरहेका छन्।”

उनले थपिन्, “मेरो इन्डियन साथीहरूसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरूले मसित कसरी फेस गर्ने भइरहेको छ।”

वर्षाको यो भनाइलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भारतीय साथीहरूलाई यसबारे यथार्थ बताउनुका साटो उल्टै साथी रिसाउनेमा चिन्ता व्यक्त गरेको भन्दै आक्रोश व्यक्त गर्न थालेका छन्।

वर्षाको स्पष्टीकरण

भिडिओ क्लिपबाट विवादमा मुछिएकी वर्षाले सामाजिक सञ्जालमार्फत् नै यसले भावनामा ठेस पुगेको जनाएकी छन्।

इन्स्टाग्राममा उनले भनेकी छन्, “हिजो एउटा अन्तर्वार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ। हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर, मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन।”

संसारमा कुनै पनि देशका नागरिकलाई आफ्नो माृतभूमिप्रति माया हुने भन्दै उनले भनिन्, “नेपाली कलाकार भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ। आफ्नो परिचयलाई नै अंगीकार गर्न सक्ने यति ठूलो र महान सम्मानलाई म उच्च ओहोदामा राख्छु। म नेपाली हुँ, मलाई गर्व छ।"

लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जारी गरिएको पूर्ण नक्शाप्रति समर्थन जनाउँदै उनले आफू अग्रपंक्तिमा उभिन तयार रहेको बताइन्।

एउटा व्यक्ति, एउटा नागरिक मात्रले समर्थन गरेर नहुने भन्दै भनिन्, “हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ। समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगाढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानव धर्मको।”

यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्ने र दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्ने भन्दै भारतीय मिडियाले उचालेका केही शब्दहरूले त्यसको असर देखिन सक्ने उनले बताएकी छन्।

मनिषा कोइरालाप्रति पूर्ण समर्थन रहेको भन्दै प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दा भएको गल्तीप्रति माफीसमेत मागिन्।

प्रतिक्रिया दिनुहोस्