सुदूरपश्चिमको एकमात्र ल्याबमा मन्त्री, सांसद र कर्मचारीको नमूना परीक्षण भ्याइनभ्याइ

कैलाली। सुदूरपश्चिम प्रदेशमा रहेको कोरोना परीक्षण गर्ने एकमात्र धनगढी प्रयोगशालामा सुदूरपश्चिमका मन्त्री, सांसद तथा कर्मचारीहरूको थ्राेट स्वाब नमूनाकाे परीक्षण गर्न भ्याइनभ्याइ छ।

१३ जेठमा सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्ने भएपछि मन्त्री, सांसद र कर्मचारीहरूकाे पीसीआर विधिबाट कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको प्रदेश सभा सचिवालयका सचीव रामसिंह धामीले बताए।

मन्त्री र सांसदहरूको नमूना संकलन गरिएपछि सर्वसाधारण र भारतको कोरोना प्रभावित क्षेत्रबाट फर्किएकाहरूको स्वाब नमूना ल्याबमा थन्किएको छ।

धनगढी प्रयोगशालामा पीसीआर विधीबाट परीक्षणका लागि संकलित ५१९ नमूनामध्ये २६० भन्दा बढी नमूना, प्रदेशका मन्त्री, सांसद, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारका छन्।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संकलित नमूनामा १०८ जनाको रिपाेर्ट भने नेगेटिभ आएको बताए। उनले अन्यको नमूना परीक्षणकै क्रममा रहेको जानकारी दिए।

प्रयोगशालामा मन्त्री र सांसदबाट आएको दबाबका कारण सर्वसाधारणको नमूना थन्किएको बताइएको छ।

प्रदेशमा कोरोना भाइरस रोकथाम, जोखिम न्यूनीकरण र नियन्त्रणमा भूमिका नखेलेको भन्दै प्रदेश सरकारको आलोचना भइरहेका बेला संघीय सरकारले पठाएका किटबाट मुख्यमन्त्री, मन्त्री र सांसदहरूले आफ्नो कोरोना परीक्षण गरिरहेका छन्।

भारतबाट फर्किएका हजारौँ प्रदेशवासीलाई किट अभावको कारण देखाउँदै परीक्षण नगरी सम्बन्धित स्थानीय तहमा पठाइएकाे छ।

प्रदेश सरकारलाई कोरोना परीक्षणका लागि किट खरिद गर्ने अधिकार भए पनि अहिलेसम्म कोरोना परीक्षणका लागि आवश्यक पर्ने किटको व्यवस्थापन भने गर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्