डडेल्धुराका संक्रमित व्यक्ति सरकारी कर्मचारी, आवाससँगै चार कार्यालय 'सिल'

अमरगढी। डडेल्धुरामा कोभिड-१९ पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ। दुई दिनअघि संक्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत हुन्। संक्रमणसँगै आवास र चार कार्यालय 'सिल' गरिएको छ।

डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो।

परीक्षणपछि उनी स्क्रब टाइफसको औषधि लिएर अस्पतालबाट फर्किएका थिए तर पछि उनको रिपोर्ट पोजिटिभ आएको हो।

संक्रमितसँग सम्पर्कमा आएका कर्मचारी, सञ्चारकर्मी, होटल सञ्चालक तथा डडेल्धुरा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी र कर्मचारी गरी १५० जनाको स्वाब परीक्षण गरिएको छ।

२० जनाको आरडीटी गरिएको र चिकित्सकसहित सातजना आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए।

जिल्लामा भारतबाट फर्किएका नागरिकलाई सबै स्थानीय तहले क्वारेन्टाइनमा राखेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए।

यहाँका सात स्थानीय तहका ३० हजार सङ्ख्यामा डडेल्धुराबाट भारत गएको तथ्याङ्क छ।

हिजोसम्म ६२६ जना क्वारेन्टाइनमा रहेको प्रजिअ पन्तले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्