बायर्नलाई फेरि चार अंकको अग्रता

काठमाडौं। जर्मन बुन्डेसलिगाको साविक विजेता बायर्न म्युनिखले इन्ट्राचट फ्रायङफर्टमाथि ५-२ को नतिजा निकाल्दै शीर्ष स्थानमा अंक दूरीको अग्रता बढाएको छ।

घरेलु मैदान एलिनाज एरिनामा हासिल गरेको जितसँगै बायर्नले दोस्रो स्थानको बोरूसिया डर्टमण्डलाई चार अंकले पछि पारेको हो।

चाडो गरी सम्पन्न खेलमा डर्टमण्डले उल्फसबर्गलाई २-० ले हराउँदै बायर्नसँगको दुरी एक अंकमा छोट्याएको थियो।

थोमस मुलरको क्रसमा लियोन गोरेट्काले गरेको उत्कृष्ट गोलमा बायर्नले १७औं मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा अल्फान्सो डेभिसको पासमा मुलर आफैले अग्रता दोब्बर बनाए। ४६औं मिनेटमा किङ्सले कोम्यानको पासमा रोबर्ट लेवन्डस्कीले अर्को गोल थपे।

फ्रयाङफ्रर्टका मार्टिन हिन्टेरेगर तीन गोल गरे। दुई आफ्नै क्लबका लागि गरे भने अर्को गोल बायर्नका लागि गरे। हिन्टेरेगरले ५२औं मिनेटमा गरेको गोलमा फ्रायङफर्टले पुनरागमन गर्ने प्रयास गर्‍यो।

त्यसको तीन मिनेट वित्न नपाउँदै हिन्टेरेगरले अर्को गोल थप्दै गोलअन्तर घटाए। त्यससँगै भ्रमणकारी टीम फ्रायङफर्टले अंक लिने आशा बढाएको थियो।

तर, फ्रायङरफर्टका रक्षापंक्तिले गरेको गल्तिमा डेभिसले ६१औं मिनेटमा बायर्नको अग्रता पुनः बढाए।

७४औं मिनेटमा हिन्टेरेगरले आत्मघाती गोल गरेपछि बायर्नले जित पक्का गर्यो। तथापी बायर्नका प्रशिक्षक हान्सी फ्लिकले गोल खाएको असन्तुष्टी व्यक्त गरे।

‘‘तीन गोलले पछाडी परेपछि फ्रायङ्फर्टले राम्रो खेल्यो। त्यतीबेला हाम्रो प्रदर्शन राम्रो थिएन। यस विषयमा हामीले कुरा गर्नुपर्छ,’’ बायर्नका प्रशिक्षक फ्लिकले भने।

लिगमा फ्रायङ्फर्टको यो लगातार पाँचौं हार हो। फ्रायङ्फर्टले यसअघि घरेलु मैदानमा बायर्नलाई ५-१ ले हराएको थियो।

कोभिड-१९ महामारीका स्थगन भएर शुरू भएपछिको पहिलो खेलमा बायर्नले युनियन बर्लिनलाई २-० ले पराजित गरेको थियो। सबै खाले प्रतियोगितामा बायर्नको पछिल्लो १७ खेलमा यो १६औं जित हो।

प्रतिक्रिया दिनुहोस्