हेलिकप्टरबाट काठमाडौं ल्याएर पनि ज्यान जोगिएन खाँदबारीकी सुत्केरीको

काठमाडौं। पूर्वी पहाडी जिल्ला संखुवासभाबाट हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ।

दुर्गममा उपचार हुन नसकेपछि छिटोका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएकी खाँदबारी नगरपालिका-६ की ३२ वर्षीया गंगा कार्की सुविधा सम्पन्‍न ठाउँमा आएर पनि ज्यान जोगिन सकेन।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ९ जेठमा सेनाको हेलिकप्‍टरबाट ल्याइएकी उनलाई त्यही दिन राति थापाथलीस्थित परोपकार प्रसूति गृहमा भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटर खोज्दा खोज्दै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

महिला नागरिक तथा ज्‍येष्‍ठ नागरिक मन्त्री पार्वत गुरुङले उनको मृत्युप्रति दु:ख व्यक्त गरेका छन्।

ट्वीटमार्फत उनले मृतक महिलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

'प्रजनन् स्वास्थ्यका लागि हामी अत्यन्त संवेदनशील छौं। मातृ मृत्युदर न्यूनिकरण गर्न र आमाहरूको सुरक्षा गर्न प्राथमिकताका साथ कार्यक्रम अगाडि बढाउने प्रण गर्दछौं।'

यसअघि प्रसव पीडाको कारण ४ चैतमै जिल्ला अस्पताल खाँदबारी भर्ना भएकी उनलाई विराटनगरमा रिफर गरिएको थियो।

विराटनगरस्थित नोबेल अस्पतालमा ती महिलाबाट मृत शिशु जन्मिएको थियो। उनको स्वास्थ्य सुधार नहुँदै परिवारले आर्थिक अभावका कारण घर फर्काएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्