लकडाउनको अर्को पाटो : ह्वात्तै घटे सरुवा रोगका विरामी

काठमाडौं। समय सहज छैन। विश्वव्यापी महामारी कोभिड-१९ को असर नेपालमा पनि बढिरहेछ। कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। यो महामारीसँग जुध्न लागू गरिएको लकडाउनका कारण आम मानिस घर–घरमै बस्न बाध्य भएका छन्।

लकडाउनले दैनिक जनजीवन अस्तव्यस्त त बनाएको छ नै, कतिपयको रोजिरोटी समेत खोसेको छ। यसको एउटा सकारात्मक पाटो पनि छ।

चिकित्सकहरूका अनुसार लकडाउन अवधिमा सरुवा रोगका बिरामीको दर निकै घटेको छ।

“गत वर्ष यो महीनातिर भाइरल फ्लुका बिरामीहरूको बिगबिगी हुन्थ्यो। तर अहिले भने बिरामी नै भेटिदैनन्”, वरिष्ठ छातिरोग विशेषज्ञ डा. प्रकाश पौडेलले देखापढीसँग भने, “घरबाट बाहिर ननिस्किँदा वातावरणसँग सम्पर्क कम भएको छ, घरमै पकाएको स्वस्थ खाना र पानी प्रयोग गरिएको छ, यसले पनि सरुवा रोग घटेको हो।”

प्रदुषित खाना र पानीबाट सर्ने हेपाटाइटिस ए र इ का बिरामी पनि कम भएको डा. पौडेल बताउँछन्। यी रोग गर्मी र बर्षात्को मौसममा सर्ने रोग हुन्।

त्यस्तै यही मौसममा लामखुट्टेबाट सर्ने डेंगु, मलेरियाजस्ता रोगका बिरामी पनि घटेका छन्। यसको कारण हो, कोरोना भाइरससँगको डर। जम्मा भएको पानीमा लामखुट्टेले अण्डा पार्ने र मानिसहरू सम्पर्कमा आउँदा डेंगु, मलेरिया फैलिने जोखिम हुन्थ्यो।

“लकडाउनमा प्रदुषण कम भएको र सरसफाइमा पनि बढी ध्यान दिइएकोले गत वर्षहरू भन्दा यो वर्ष सरुवा रोगका कम केस देखिन सक्छन्।”- इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डे।

अहिले भने कोरोना भाइरस संक्रमणको जोखिमलाई लिएर टोल–टोलमा किट्नाशक औषधि छर्ने गरिएको छ। “यसले पनि डेंगु जस्ता रोग फैलिनबाट जोगिएको छ” डा. पौडेल भन्छन्, “गत वर्ष यो महीनामा डेंगुको महामारी नै चलेको थियो।”

उनले प्रदुषित खाना र पानीबाट हुने झाडापखाला, टाइफाइड जस्ता रोगका बिरामी पनि घटेको बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरराज भण्डारीका अनुसार अहिले इन्फुलुएन्जा (रुघाखोकी) पनि निकै कम छ। कारण हो, हात मिलाउन छोड्नु, सरसफाइमा ध्यान दिनु। उनले देखापढीसँग भने, “प्रदुषण कम भएकाले पनि सरुवा रोगहरू त्यति देखिएको छैन।”

गत वर्ष भन्दा डेंगु, कालाजार र मलेरियाका बिरामी कम देखिएको स्वास्थ्य विभाग अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाले जनाएको छ।

किटजन्य रोग नियन्त्रण शाखाको तथ्यांक अनुसार सन् २०२० मा डेंगुका ६५ जना मात्र बिरामी देखिएका छन्। यो पछिल्लो पाँच महीनाको तथ्यांक हो।

सन् २०१९ मा करीब १५ हजार डेंगुका बिरामी थिए। २१ वटा जिल्लामा डेंगुको महामारी फैलिएको थियो।

त्यस्तै सन् २०२० मा अहिलेसम्म १९ वटा जिल्लामा गरेर मलेरियाका जम्मा ५७ जना बिरामी देखिएका छन्। गत वर्ष मलेरियाका एक हजार १२८ जना बिरामी थिए।

यो वर्ष अहिलेसम्म कालाजरका १८ जिल्लामा गरेर ६६ वटा बिरामी देखिएका छन्। गत वर्ष भने ५१ वटा जिल्लामा कालाजरका २०४ बिरामी फेला परेका थिए।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म सरुवा रोगका बिरामीको स्थितिले आत्तिनुपर्ने अवस्था छैन।

महाशाखाका प्रमुख डा. बासुदेव पाण्डे भन्छन्, “लकडाउनमा प्रदुषण कम भएको र सरसफाइमा पनि बढी ध्यान दिइएकोले गत वर्षहरू भन्दा यो वर्ष सरुवा रोगका कम केस देखिन सक्छन्।”

प्रतिक्रिया दिनुहोस्