धनकुटा अस्पतालको सेवा शुरू, संक्रमित स्वास्थ्यकर्मीहरूले उपचार गरेका बिरामीको खोजी हुँदै

काठमाडौं। धनकुटा अस्पतालका स्वास्थ्यकर्मीहरूमा कोरोना भाइरस संक्रमण पाइएपछि सम्भावित संक्रमितहरूको खोजीका दोस्रो चरणको 'कन्ट्याक्ट ट्रेसिङ' को काम थालिएको छ।

त्यस्तै संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै बन्द 'सिल' गरिएको जिल्ला अस्पतालको सेवालाई निरन्तरता दिइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पुजन विश्‍वकर्माले बताए।

संक्रमित स्वास्थ्यकर्मीहरूबाट प्रत्यक्ष उपचार तथा परामर्श लिएका अस्पतालमा आएका बिरामीहरूको खोजपड्ताल शुरू गरिएको धनकुटा नगरपालिका स्वास्थ्य शाखाका संयोजक भोजराज भण्डारीले जानकारी दिए।

"पहिलो चरणमा हामीले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र नजिकमा सम्पर्कमा रहेकाहरूको नमूना परीक्षण गर्‍यौं। अब अस्पताल आएका सेवाग्राहीको वडावडामा खोजी गर्न टोली परिचालन गरेका छौं", भण्डारीले भने।

१५ वैशाखपछि अस्पतालमा सेवा लिन गएका बिरामीहरूले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेर 'कन्ट्याक्ट ट्रेसिङ' मा सहयोग पुर्‍याइदिन आग्रह गरिएको छ।

धनकुटामा शुरूमा ४ जेठमा जिल्ला अस्पतालमा कार्यरत् ३४ वर्षीया स्टाफ नर्सलाई कोभिड-१९ पुष्‍टी भएको थियो।

त्यसपछि अस्पतालका चिकित्सक, अन्य स्वास्थ्यकर्मीलगायत नजिकका सम्पर्कमा आएका ८३ जनाको थ्रोट स्वाब नमूना परीक्षण गर्दा थप पाँचजनामा संक्रमण पाइएको छ।

तीमध्ये तीन स्वास्थ्यकर्मी (अर्की एकजना स्टाफ नर्स र दुईजना हेल्थ असिष्‍टेन्‍ट) छन्।

प्रतिक्रिया दिनुहोस्