सुदूरपश्चिममा फेरि थपिए चारजना कोरोना संक्रमित, कूल संख्या १४ पुग्यो
कैलाली। सुदूरपश्चिम प्रदेशमा थप चारजना कोरोना संक्रमित थपिएका छन्।

हिजो, ९ जेठमा मात्रै पाँचजनामा कोरोना पुष्टि भएकोमा आज थप चारजनामा कोरोना संक्रमित पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

आज थपिएका चारैजना संक्रमित भारतबाट आएका हुन्। उनीहरूलाई सीमामा गरिएको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो।

कोरोना संक्रमित पुष्टि भएकाहरू सबै बैतडीको एउटै गाउँपालिकाका हुन्।संक्रमितहरू बैतडीको शिवनाथ गाउँपालिका-१ का २७ र २० वर्षीय तथा वडा नम्बर २ का २२ र ३० वर्षीय युवक हुन्।

हिजाे मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका-१० का २८ वर्षीय युवक र जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

उनीहरूको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ।

सुदूरपश्चिममा योसँगै संक्रमितको संख्या १४ पुगेको छ। सुदूरपश्चिम प्रदेशमा गत १४ चैतमा दुबईबाट आएका पहिलो कोरोना संक्रमित फेला परेका थिए।

धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि २२ चैतमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका-५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

त्यस्तै १ वैशाखमा लम्की चुहा नगरपालिका वडा नम्बर १ की ५२ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो।

पहिलो संक्रमित ३ वैशाख, दोश्रो २६ वैशाख, तेश्रो ७ वैशाख, चौथो १० वैशाख र पाचौं ११ वैशाखमा कोरोनामुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस्