जापानकी ओसाका विश्वकै धेरै कमाउने महिला खेलाडी
काठमाडौं। जापानकी टेनिस स्टार नाओमी ओसाका विश्वको सबैभन्दा बढी कमाइ गर्ने महिला खेलाडी बनेकी छिन्। उनले अमेरिकाकी सेरेना विलियम्सलाई पछि पारेकी हुन्।

फोर्ब्स म्यागजिनका अनुसार दुई पटककी ग्राण्डस्लाम विजेता २२ वर्षीया ओसाकाले पछिल्लाे १२ महीना पुरस्कार रकम र विज्ञापनबाट तीन करोड सात लाख पाउण्ड कमाएकी थिइन्। जुन ३८ वर्षे सेरेना विलियम्सको कमाइभन्दा एक करोड १५ लाख पाउण्डले बढी हो।

ओसाका र सेरेना दुवैले २०१५ मा मारिया सारापोभाले एक वर्षमा दुई करोड ४४ लाख पाउण्ड कमाइ गरेर बनाएको कीर्तिमान तोडे। १९९० बाट फोर्ब्सले महिला खेलाडीको कमाइ पछ्याउन थालेदेखि नै हरेक वर्ष टेनिस खेलाडी शीर्ष स्थानमा रहँदै आएका छन्।

ओसाकाका बुबा हाइटीमा जन्मिएका हुन् भने आमा जापानकी नागरिक हुन्। फोर्ब्सले निकालेको विश्वभर धेरै कमाइ गर्ने १०० खेलाडीको सूचीमा ओसाका २९औं स्थानमा छिन्। उनी सेरेनाभन्दा चार स्थान माथि छिन्। सरेनाले टेनिस करियरमा २३ ग्राण्डस्लामको उपाधि जितिसकेकी छिन्।

फोर्ब्सको पूर्ण सूची अर्को साता सार्वजनिक हुने बीबीसीले जनाएको छ। फोर्ब्सका अनुसार २०१६ यता दुई महिला सूचीमा परेका थिएनन्।

सेरेना र ओसाका २०१८ को यूएस ओपनको फाइनलमा आमनेसामने भएका थिए। निकै प्रतिस्पर्धात्मक तथा विवादास्पद बनेको उक्त फाइनल ओसाकाले जितेकी थिइन्। उक्त खेलमा अम्पायरले नियम उल्लंघन गरेको भन्दै तीनपटकसम्म सेरेनालाई चेतावती दिनुपरेको थियो।

जापानकी ओसाकाले २०१९ मा अस्ट्रेलियन ओपनको पनि उपाधि जितेकी थिइन्। तथापि पछिल्लो समय उनले लय गुमाएकी छिन्। उनी विश्व वरीयताको शीर्ष स्थानबाट दशौं स्थानमा झरेकी छिन्।

सेरेना विलियम्स पछिल्लो चार वर्षसम्म सबैभन्दा धेरै कमाइ गर्ने महिला खेलाडी सूचीको शीर्ष स्थानमा थिइन्। त्यसअघि सारापोभाले पाँच वर्षसम्म शीर्ष स्थानमा कब्जा जमाएकी थिइन्।

पछिल्लो समय जापानको विज्ञापनमा ओसाका लोकप्रिय व्यक्तित्व हुन्। एक वर्ष पछाडि धकेलिएको टोकियो ओलम्पिक देखि विश्व ब्रान्ड नाइके, निसान, योनोक्सलयायतका कम्पनीसँग ओसाका अनुबन्धित छिन्।

प्रतिक्रिया दिनुहोस्