मनमोहन कार्डियोथोरासिकमा उपचाररत कोरोना संक्रमित महिलालाई शिक्षण अस्पतालको आइसोलेसनमा सारियो

काठमाडौं। हेटौंडा उपमहानगरपालिकाकी ५४ वर्षीया कोरोना संक्रमित महिलालाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरबाट त्रिवि शिक्षण अस्पतालको आइसोलेसन कक्षमा सारिएको छ।

मनमोहन कार्डियोथोरासिकमा उपचाररत ती महिलामा हिजो कोरोना संक्रमण पुष्‍टि भएको थियो।

संक्रमित बिरामीको उपचार गर्न बनाइएको आइसोलेसन कक्षमा सारेर उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका कोभिड-१९ संयोजक डा. सन्तकुमार दासले जानकारी दिए।

“हामीले राति नै बिरामीलाई आइसोलेसन कक्षमा सारिसकेका छौं,” उनले भने, “उहाँको स्वास्थ्य अवस्था सामान्य छ। थप सुरक्षा अपनाएका छौं।”

ती महिलामा संक्रमित पुष्‍टि भएपछि अस्पततालको आईसीयूसहितका विभाग बन्द गरिएको उनले जानकारी दिए।

बिरामी महिलाको उपचारमा संलग्‍न चिकित्सकसहित नजिकको सम्पर्कमा रहेका मानिसहरूको नमूना परीक्षण गरिने छ।

डा. दासले मुटु रोगको बिरामी ती महिला ४ जेठ राति मनमोहन कार्डियोथोरासिकमा भर्ना भएको जानकारी दिए। यसअघि कपिलवस्तुबाट उपचारका लागि आएकी ६ वर्षीया बालिकामा पनि संक्रमण पुष्‍टि भएको थियो। ती बालिकाको पनि त्रिवि शिक्षण अस्पतालकै आइसोलेसन कक्षमा उपचार जारी छ।

बिरामीहरूमा कोरोनाको संक्रमण देखिन थालेपछि थप सुरक्षा सतर्कता अपनाउन थालिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए।

प्रतिक्रिया दिनुहोस्