राष्ट्रिय मानवअधिकार आयोगले भन्यो- ‘एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको भत्ता नरोक’

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न निर्देशन दिएको छ।

आयोगका प्रवक्ता सचिव वेद भट्टराईले विज्ञप्ति निकालेर विश्वव्यापी महामारी कोभिड-१९ बाट प्रभावित भइरहेको अवस्थामा उनीहरूको भत्ता नरोक्न निर्देशन दिएका हुन्।

आयोगले विगतदेखि प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता रोकिएको भन्ने सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सरकारको सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रमले उक्त समुदायमा आर्थिक र सामाजिक रुपमा सकारात्मक प्रभाव पर्नुका साथै उनीहरुमाथि हुने विभेद र हिंसामा केही कमी देखिएको पनि आयाेगले प्रष्ट पारेको छ।

'राहत लगायत सामाजिक सुरक्षाका थप कार्यक्रम घोषणा भै कार्यान्वयन हुनुपर्नेमा विगतमा प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताबाट समेत एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई विमुख गराउँदा उनीहरुको सम्मानपूर्वक बाँच्नपाउने जीवनको अधिकारमा बाधा उत्पन्न हुन्छ,' आयाेगले भनेकाे छ।

लकडाउनका कारण अपाङ्गता भएका व्यक्तिहरुलाई औषधी, स्वास्थ्य र शारीरिक उपकरण प्राप्त गर्न कठिन भएको, दृष्टिविहीन तथा सुस्त श्रवण भएका व्यक्तिहरुलाई राहत तथा सूचना प्राप्त गर्न र बैंकिंङ् सेवा प्राप्त गर्न कठिनाई भएकोले आधारभूत मानवअधिकारको उपभोग गर्नबाट समेत वञ्चित हुन पुगेकेा पाइएको आयोगको भनाइ छ।

६० वर्ष मुनिका एकल महिला तथा निलो परिचयपत्र प्राप्त गरेका अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुले विगतदेखि प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नरोकी त्यसलाई निरन्तरता दिन,अपाङ्गता भएका व्यक्तिको लागि औषधी तथा स्वास्थ्य र शारीरिक उपकरणहरुको उपलब्धताको सुनिश्चिता गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्