कपिलवस्तुका नयाँ संक्रमित एकजना वडाध्यक्ष र अर्का पत्रकार

काठमाडौं। कपिलवस्तुमा आज बिहान संक्रमण पुष्‍टिएका ८ जनामध्ये एकजना निर्वाचित वडाध्यक्ष र एकजना पत्रकार महिला रहेको पुष्‍टि भएको छ।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द नेपालीका अनुसार नयाँ थपिएका संक्रमितमध्ये बाणगंगा नगरपालिकाका ६ जना र बुद्धभूमि नगरपालिकाका २ जना हुन्।

राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परीक्षणमा आठजनामा संक्रमण देखिएको हो।

सहायक प्रजिअ नेपालीका अनुसार बाणगंगा नगरपालिकाका ४० वर्षीय वडाध्यक्षमा संक्रमण पुष्‍टि भएको छ।

त्यस्तै बाणगंगा ६ की २७ वर्षीया एक पत्रकार महिलामा कोरोना संक्रमण पुष्‍टि भएको उनले जानकारी दिए। यसअघि हिजो पनि कपिलवस्तुमा एकजना पत्रकारमा संक्रमण पुष्‍टि भएको थियो।

बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले पनि वडाध्यक्ष र एकजना पत्रकार रहेको जानकारी दिए। उनका अनुसार अन्य संक्रमितमा बाणगंगा ८ का २९ वर्षीय, ३ का १९ वर्षीय, ११ ४२ वर्षीय र १० का ३५ वर्षीय पुरुष छन्।

त्यस्तै बुद्धभूमि नगरपालिका वडा नम्बर ४ की १७ वर्षीय किशोरी र ४ कै २२ पुरुष रहेका छन्। पत्रकार र वडाध्यक्षबाहेकका ६ जना संक्रमित भने भारतको मुम्बईबाट आएको खुलेको छ।

“हामीले आज संक्रमित पुष्‍टि भएका सबैको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिसकेका छौं,” सहायक प्रजिअ नेपालीले भने, “संक्रमित सबैलाई अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।” कपिलवस्तुबाट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्