भारतमा अलपत्र चार किरियापुत्रीसहित ३७८ नेपालीको उद्धार

बैतडी। किरियापुत्रीसहित सीमानाका झुलाघाटबाट ३७८ जनाको आज उद्धार गरिएको छ।

भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित सो संख्यामा सीमानाका झुलाघाटबाट उद्धार गरिएको हो।

उद्धार गरिनेमा बैतडीका १६२, बझाङका १००, बाजुराका ३०, अछामका तीन, डडेल्धुराका पाँच, दार्चुलाका ११ र कञ्चनपुरका ६ जनासहित १२ जिल्लाका नागरिक छन्।

सीमानाकामा सामान्य चेकजाँच मात्रै गरेर नेपाली नागरिकलाई स्वदेश ल्याइएको हो।

सीमानाका झुलाघाटबाट फर्केका नागरिकलाई सम्बन्धित जिल्ला पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।

यसअघि गत १८ वैशाखमा पनि झुलाघाट नाकाबाट नेपालीको उद्धार गरिएको थियो।

यसैबीच सीमानाका झुलाघाटबाट ११ भारतीय नागरिक पनि स्वदेश फर्केका छन्। नेपाल र भारतका स्थानीय प्रशासनबीच भएको सहमतिअनुसार दुवै देशका अलपत्र परेका नागरिकलाई आ-आफ्ना देशमा आवतजावत गर्न दिइएको हो।

१० दिनदेखि भारतीय क्वारेन्टाइनमा बसेर किरिया गरिरहेका चारजनाले आज मात्रै स्वदेश फर्कन पाएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्