राखेपका सदस्यसचिव भन्छन्- ‘अब खेलकुद गतिविधि चलायमान बनाउनुपर्छ’
काठमाडौं। कोभिड-१९ महामारीबाट संक्रमित हुनेको संख्या दिनदिनै बढिरहेको छ।

जसकारण लकडाउन अवधि कति समयसम्म लम्बिने हो भन्ने अनिश्चित छ। यसैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिवले भने अब खेलकुद गतिविधि शुरू गर्नुपर्ने बताएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले तयार पारेको शहीद स्मारक ‘ए’ डिभिजन लिग-२०७६ को ‘टेक्निकल ह्याण्डबुक’ विमोचन गर्ने क्रममा सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुद क्षेत्रलाई अब विस्तारै सामान्य अवस्थामा फर्काउनुपर्ने बताएका हुन्।

‘‘कोरोना भाइरस महामारीका कारण ‘बी’ डिभिजन लिग स्थगित भयो। ‘सी’ डिभिजन शुरू हुन पाएको छैन। यद्यपि मैले शुरू गर्न जोडबल गरिरहेको छु’’, उनले भने, ‘‘विदेशमा जस्तो सबै खेलाडीको स्वास्थ्य जाँच गरेर खाली मैदानमा प्रतियाेगिता गर्ने प्रयास गरेका थियौं। सकारात्मक स्थिति आइसकेको थियो। फेरि कोरोना भाइरसले तर्सायो।’’

राखेपले कोभिड-१९ का कारण ४ चैतबाट सम्पूर्ण खेलकुद गतिविधि स्थगन गरेको थियो। एन्फाले पनि सोही दिनबाट सचिवालयसमेत बन्द हुनेगरी सम्पूर्ण फुटबल गतिविधि स्थगन गरेको थियो।

जसका कारण ‘बी’ डिभिजन लिग बीचमै स्थगित भएको छ भने महिला राष्ट्रिय लिग, सी डिभिजन लिग तथा राष्ट्रिय फुटबल लिग शुरू हुन पाएन।

एन्फाले त्यसको केही दिन अघिमात्र महिला फुटबल लिगको खेलतालिका सार्वजनिक गरेको थियो।

सदस्यसचिव सिलवालले ग्रीनजोनमा रहेका जिल्ला तथा एकल स्पर्धा हुने प्रतियोगिताहरूबाट खेलकुद शुरू गर्नुपर्ने बताए।

‘‘अहिलेको अवस्था कति समयसम्म लम्बिन्छ भनेर यसै भन्न सकिने स्थिति छैन। तर, विस्तारै यसलाई सामान्य अवस्थामा ल्याउनुपर्छ। खेल क्षेत्र तथा खेलाडीहरूलाई पनि समान्य अवस्थामा फर्काउनुपर्छ’’, सदस्यसचिव सिलवालले भने, ‘‘जतिसक्दो चाँडो लिगहरूलाई सञ्चालन गर्नुपर्छ। सबै सुरक्षित हुने र खेल तालिका पनि चलायमान हुने गरी छिटोभन्दा छिटो शुरू गर्नुपर्छ। हामीले एकल स्पर्धाका खेलहरूबाट शुरू गर्ने भनेर पहल गरेका छौं। तथापि मूर्तरूप लिन पाएको छैन। ग्रीनजोनमा परेका जिल्लाहरूबाट अगाडि बढाउन सकियो भने विस्तारै गति लिन्छ भन्ने अपेक्षा गरेको छु।’’

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि जारी सिजनमा अवरुद्ध भएका कार्यक्रम टुंगाउन सक्यो भने अर्को सिजनका लागि सजिलो हुने बताएका छन्।

‘‘विना दर्शक भए पनि ‘बी’ र ‘सी’ डिभिजन लिग, महिला राष्ट्रिय लिग र राष्ट्रिय लिग गर्न सक्यौं भने यो सिजनको मुख्य प्रतियोगिता समाप्त हुनेछ’’, एन्फा अध्यक्ष शेर्पाले भने, ‘‘यति गर्न सक्यौं भने अर्को सिजनका लागि सजिलो हुनेछ। धेरै देशमा विना दर्शक प्रतियाेगिता सञ्चालन गर्ने क्रम शुरू भएको छ। हामीले यसमा जोड गर्नुपर्छ।’’

कोरोना भाइरस संक्रमणका अवरुद्ध भएको जर्मन बुन्डेसलिगा गत साताबाट शुरू भएको छ। दक्षिण कोरियामा के–लिग तथा बेलारूसमा फुटबल लिग शुरू भएको छ। त्यस्तै इटाली, स्पेन तथा इङ्ल्यान्डमा पनि फुटबल लिग शुरू गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्