कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीका युवकको दोस्रो रिपोर्ट पनि पोजिटिभ
काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीको मदाने गाउँपालिका-६ का ४१ वर्षीय युवकको दोस्रो परीक्षण रिपाेर्ट पनि पोजिटिभ देखिएको छ।

हिजो, ८ जेठ बिहान अस्पतालमा मृत्यु भइसकेपछि दोस्रोपटक नमूना परीक्षण गर्न पठाइएको थियो।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. उमाशंकर चौधरीले दोस्रो परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको पुष्टि गरे।

गुल्मीका ती युवक १ जेठमा उच्च ज्वरो, रुघाखोकीलगायतका समस्या देखिएपछि उपचारका लागि रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए।

उनको ५ जेठमा कोरोना भाइरस (कोभिड-१९) को पहिलो परीक्षण रिपोर्ट पोजिटिभ पुष्टि भएको थियो।

अस्पतालको आईसीयूमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि क्रिमसन अस्पताल सिल गरिएको थियो।

आईसीयूमा बिरामी हेर्ने चिकित्सक, स्वास्थ्यकर्मी, इमरजेन्सी फाँटका कर्मचारी र बिरामीका कुरुवाको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो।

महाशाखा प्रमुख चौधरीका अनुसार २९ जनाको स्वाब नमूना संकलन गरिएकाे थियाे। तीमध्ये अहिलेसम्म आएकाे १९ वटा नमूना परीक्षणको रिपाेर्ट नेगेटिभ रहेको उनकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्