कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशु डिस्चार्ज

काठमाडौं । कारोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित आफन्त अस्पतालबाट डिस्चार्ज भएका छन्।

धुलिखेल अस्पतालले पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले जानकारी दिए। कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु भएपछि उनका नवजात शिशु र आफन्तलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो।

दुईपटक पीसीआर जाँच गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको डा. ताम्राकारले बताए। उनीहरूको सबै रिपोर्ट नेगेटिभ आएको छ। अहिले डिस्चार्जका लागि कागजी प्रक्रिया भइरहेको डा. ताम्राकारले बताए ।

शुरुमा शिशुमा हल्का जन्डिस देखिएको थियो। आज पुनः जाँच गराउँदा उनको अवस्था ठीक भइसकेको छ । अस्पतालले डिस्चार्जका लागि बाल रोग विशेषज्ञको राय लिएको थियो। विशेषज्ञले डिस्चार्ज गर्न योग्य भएको निष्कर्ष दिएपछि प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ।

अस्पतालबाट डिस्चार्ज भएपछि पनि उनीहरू सात दिन क्‍वारेन्टाइनमा बस्‍नुपर्नेछ । सात दिनपछि आरडीटी परीक्षण गरेर घर पठाइनेगरी व्यवस्था मिलाइएको धुलिखेल अस्पतालका कोभिड-१९ उपचारका लागि समन्वयकर्तासमेत रहेका डा. ताम्राकारले बताए।

२४ वैशाखमा शिक्षण अस्पताल महाराजगञ्‍जमा छोरालाई जन्म दिएर डिस्चार्ज भई घर गएकी सुत्केरीको स्वास्थ्यमा समस्या भएपछि उपचार क्रममा धुलिखेल अस्पतालमा १ जेठमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्