पहिलो कोरोना संक्रमितको अन्त्येष्टी गर्ने सैंजु र गैंजुलाई सहयोग

काठमाडौं। कोरोना संक्रमणबाट ज्यान गुमाएकी महीलाको अन्त्येष्‍टीमा गएका भक्तपुरका युवालाई प्रोत्साहन सहयोग गरिएको छ।

अन्त्येष्‍टीमा गएका ‘आरएनए-१६’ का युवालाई भैरहवाकी ८१ वर्षीया खगिसरा घिमिरेले ५० हजार रुपैयाँ सहयोग गरेकी हुन्। दिवंगत पति थानेश्‍वर घिमिरे र आफ्नै नाममा स्थापित स्वर-सरा घिमिरे प्रतिष्ठानका तर्फबाट उनले सहयोग गरेकी हुन्।

विपदको घडीमा उदाहरणीय काम गरेर देखाएकाले प्रोत्साहनस्वरूप सहयोग गरेको घिमिरेले बताइन्।

त्यस्तै घिमिरेले एसियन फर्मास्युटिकल्स र एनसीभीको समन्वयमा आठ थान पीपीई र ६० थान ह्यान्ड स्यानिटाइजरसमेत प्रदान गरेकी छन्। फर्मास्युटिकल्सका दीपेश प्रधान र एनसीभीका यादव गौतमले भक्तपुर सूर्यविनायकस्थित सेनाको वीरदल गणमा पुगेर समूहलाई नगद र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।

नेपाल स्काउटका रोबर लिडर अरुण सैंजु र राजेश गैंजुको समूहलाई वीरदल गणले आपतकालीन शव व्यवस्थापनको तालिम दिएको थियो।

प्रतिक्रिया दिनुहोस्