'पैसा तिरेर सुविधासहितको क्‍वारेन्टाइनमा बस्‍ने व्यवस्था गरौं'
काठमाडौं। कोरोना संक्रमणको जोखिम बढिरहँदा खुला सीमानाका कारण भारतबाट हजारौँजना नेपाल भित्रिदा क्वारेन्टाइन व्यवस्थामा समस्या देखिएको छ।

शहरी विकास मन्त्रालयमा क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन मापदण्डका विषयमा आज भएको छलफलमा सो विषय उठेको हो।

स्थानीय तहहरुले निश्चित क्वारेन्टाइन व्यवस्थापन गरेपनि धेरैजना भित्रिने क्रम नरोकिएपछि व्यवस्थापनमा समस्या देखिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताए।

उनका अनुसार नेपालमा रहेका भारतीय नागरिकलाई नेपालमै र भारतमा रहेका नेपाली नागरिकलाई भारतीय क्वारेन्टाइनमै व्यवस्थापन गर्ने समझदारी बनेपनि त्यसो हुन नसक्दा चुनौति थपिएको छ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले होटल तथा रिसोर्टहरुलाई क्वारेन्टाइनका रुपमा व्यवस्थापन गर्न सकिनेतर्फ जोड दिए। उनले यसबारे ७ वैशाखमा प्रधानमन्त्रीलाई सुझाव दिएको जानकारी दिए। खाली रहेका होटलहरूलाई निश्चित रकम तिरेर भएपनि क्वारेन्टाइनको लागि प्रयोग गर्न सकिने मन्त्री मानन्धरको भनाई छ।

गृहमन्त्रालयकी उपसचिव गोमादेवी चेमजोङले होस्टेल, सामुदायिक भवन र तालिम केन्द्रहरूलाई पनि क्वारेन्टाइनका रुपमा विकास गर्नुपर्ने बताइन्।

निश्चित रकम तिरेर भएपनि क्वारेन्टाइनमा बस्छु भन्ने र पैसा तिर्न नसक्ने सम्भावित संक्रमितहरुलाई वर्गिकरण गरेर अगाडी बढ्नुपर्ने उनको सुझाव छ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले उपत्यका बाहिरका अधिकांश क्वारेन्टाइनहरूमा पूर्वाधारको अभाव भएको बताए।

खानेपानी, सञ्चार सुविधा नहुँदा मान्छेहरू डराउने, एक्लोपन महशुस गर्ने समस्या देखिएको र भाग्ने गरेकोले बजेट व्यवस्थापनमा उनले जोड दिए।

बैठकमा सहभागीहरूले विदेशबाट आउन चाहनेहरूको तथ्याङ्क परराष्ट्र मन्त्रालयले तयार गर्नुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्