कोरोना संक्रमितको उपचार गर्न कास्कीमा नौ शय्याको आईसीयू तयार हुँदै

कास्की। कोभिड–१९ का बिरामीको उपचार गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नौ शय्याको सघन उपचार कक्ष (आईसीयू) तयार गरिने भएको छ। सो अस्पताललाई ‘डेडिकेटेड अस्पताल’ तोकिएको छ ।

पछिल्ला दिन कोरोनाको जोखिम बढेसँगै अस्पतालमा सम्भावित गम्भीर अवस्थाका बिरामीको उपचारलाई लक्षित गरी विशेष सुविधासहितको कोभिड-१९ उपचारमैत्री शय्याको निर्माण थालिएको हो।

अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले गम्भीर अवस्थाका बिरामीको उपचारका लागि तीन/चार दिनभित्रमा सुविधासम्पन्न आईसीयू तयार भइसक्ने जानकारी दिए।

अहिलेको ११ शय्याको क्षमताबाट घटाएर सहज उपचारका लागि नौ शय्यामा सीमित गर्न लागिएको छ। अस्पतालले २० लाख लागतमा विशेष खालको उपचार कक्ष निर्माण गरिरहेको जनाएको छ ।

त्यसैगरी हालको मेडिकल वार्डमा समेत २५ शय्या तयार गर्न लागिएको छ। आवश्यकतानुसार सो कक्षमा शय्या विस्तार गर्न सकिने आचार्यले बताए।

“तत्काल कोरोनाका बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ । गम्भीर अवस्थाका बिरामीका लागि केही दिनमा नै आईसीयू र मेडिकल वार्डमा उपचारको प्रबन्ध गरिने छ, अहिले त्यसको काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

कोरोनाका बिरामीको उपचारका लागि प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा गरी २८३ आइसोलेशन शय्या तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए।

जिल्लामा पुष्टि भएका बिरामीको उपचार सम्बन्धित जिल्लामा गर्ने गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम, अस्पतालमा उपकरण तथा स्वास्थ्य सामग्री व्यवस्थापनको काम भइरहेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्