कोभिड-१९ फैलिरहेका भारतसहितका चार देश, जहाँ बढ्दै छन् बिरामी

जेनेभा। पछिल्लो २४ घण्टामा देखिएका कोभिड-१९ का नयाँ बिरामीमध्ये दुई तिहाइ हिस्सा चारवटा देशमा रहेको विश्‍व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

ती चार मुलुक हुन्- अमेरिका, रुस, ब्राजिल र भारत। पछिल्लो २४ घण्टामा विश्‍वभर एक लाख ६ हजार नयाँ बिरामी फेला परेका छन्। यो संख्या एकै दिनमा कोरोना भाइरस संक्रमित भेटिएको सबैभन्दा ठूलो रहेको संगठनको भनाइ छ।

हिजो मात्र संगठनका महानिर्देशक टेड्रोस अदानम गेब्रियससले कोरोना भाइरस संक्रमणसँग लामै यात्रा हुन सक्ने बताएका थिए। उनको भनाइ लकडाउन खोल्न हतारिएका मुलुकहरूतिर लक्षित थियो।

दक्षिण अमेरिकी मुलुक ब्राजिल अहिले कोभिड-१९ महामारीको केन्द्रका रूपमा देखिएको छ। ब्राजिलमा कोभिड-१९ का बिरामी बेलायतमा भन्दा बढी भइसकेका छन् र निरन्तर बढ्दो क्रममा छन्।

दक्षिण एशियामा भारतमा भाइरस संक्रमण लगातार बढ्दो छ। पछिल्लो २४ घण्टामा भारतमा पाँच हजार ६ सय नौ नयाँ बिरामी भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्