गोदावरी नगरपालिकाले भन्यो- ‘कालीमाटी, बानेश्वर र बल्खुबाट तरकारी नल्याउनू’

ललितपुर। ललितपुरको गोदावरी नगरपालिकाले कालीमाटी, बानेश्वर र बल्खुबाट आउने तरकारी तथा फलफूलमा बन्देज लगाएको छ।

ती तरकारी बजारमा तराई तथा भारतबाट तरकारी तथा फलफूल आउने गरेको र त्यसले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै नगरपालिकाले बिक्री वितरणमा पूर्ण रोक लगाएको हो।

नगर प्रमुख गजेन्द्र महर्जनले ती क्षेत्रबाट आउने तरकारी तथा फलफूलका कारण नगर क्षेत्रमा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै केही समयका लागि रोक लगाइएको बताए।

कालीमाटी, बानेश्वर र बल्खुमा तराई तथा भारतबाट तरकारी आउने गरेको छ। “कोरोनाको उच्च जोखिमकै क्षेत्रबाट आएको तरकारी नगर क्षेत्रमा ल्याउँदा यता पनि जोखम बढ्ने भएकाले केही समयका लागि रोक लगाएका हौं”, मेयर महर्जनले भने।

गोदावरीको दक्षिणी क्षेत्र, भट्टेडाँडा, लेलेलगायतका क्षेत्रमा पर्याप्त मात्रामा तरकारी उत्पादन भइरहेकाले त्यहीँबाट अहिले व्यवस्थापन गरिने उनले बताए।

त्यस्तै अत्यावश्यक खाद्य वस्तुको बिक्री वितरण गर्ने पसल बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पनि नगरपालिकाले अनुरोध गरेको छ।

सामाजिक दूरी कायम गराउँदै उक्त समयमा अत्यावश्यक खाद्य पसल, किराना र औषधि पसल मात्र खोल्न दिइने मेयर महर्जनले बताए।

नगरपालिका क्षेत्रमा कोरोना भाइरसको फैलँदो अवस्था देखिएकाले नगरपालिकाका सबै वडामा सतर्कता अपनाएर मात्र पसल खोल्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्