प्रदेश १ मा सातजना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमित संख्या ४३४ पुग्यो

काठमाडौं। प्रदेश १ मा सातजना कोरोना भाइरस संक्रमित थपिएका छन्।

आज साँझको अद्यावधिक विवरण अनुसार झापामा ५, धनकुटा र धरानमा एक/एक जनालाई कोभिड-१९ पुष्टि भएको प्रदेश १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ।

योसँगै नेपालमा संक्रमितको संख्या ४३४ पुगेको छ।

झापाका ५ जना प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा तथा धनकुटाका पुरुष र धरानकी महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड-१९ पुष्टि भएको हो।

झापाका संक्रमितहरू यसअघि १० जना संक्रमित भेटिएको भारतसँग सीमा जोडिएको केचनाकवल गाउँपालिकाका हुन्। उनीहरू भारतबाट केही दिनअघि फर्किएकाहरू रहेको बताइएको छ।

धनकुटाका संक्रमित यसअघि धनकुटामा पुष्‍टि भएका ६ जना बिरामीको सम्पर्कमा रहेमध्येका एक हुन्।

धरानकी महिला भने धरान उपमहानगरपालिका-१३ शिवधाराकी ५२ वर्षीया महिला हुन्।

प्रदेश १ मा परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ। अहिलेसम्म ६६ जनामा कोरोना संक्रमण पाइएको छ।

यस प्रदेशमा सबैभन्दा धेरै उदयपुरमा ३३ जना संक्रमित फेला परेका छन्। त्यस्तै झापामा १७, धनकुटामा ७, मोरङमा ४, सुनसरीमा ३, खोटाङमा एक र भोजपुरमा एक संक्रमण पुष्टि भएको हो।

२६ जना उपचारपछि निको भएर घर फर्किएको प्रदेशस्तरीय कोभिड-१९ अनुगमन तथा प्रतिवेन सचिवालय प्रमुख ज्ञानबहादुर बस्‍नेतले बताए। कोशी अस्पतालबाट आज पाँच भारतीय र उदयपुर त्रियुगा नगरपालिकाका तीन गरी ८ जनालाई डिस्चार्ज गरिएको छ।

प्रदेश १ मा निको हुनेहरूको संख्या २६ रहेको छ। अहिलेसम्म पीसीआरबाट तीन हजार ७०० र आरडीटीबाट ९ हजार ८३७ जनाको परीक्षण भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्