जुम्लामा १८ आयोजनालाई निर्माणको अनुमति
जुम्ला। लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन्।

लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले १८ बढी आयोजनालाई अनुमति दिएपछि ती आयोजना सञ्चालनमा आउने भएका हुन्।

लकडाउनका कारण रोकिएका यहाँका ठूला १८ विकासे आयोजनाको निर्माणको काम सञ्चालनमा गर्न अनुमति दिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।

उनले भनिन्, “लकडाउनका समयमा विकास निर्माणका कामलाई सावधानी अपनाएर निर्माण गर्न स्थानीय तह र विकासे कार्यालयलाई अनुमति दिइएको हो।”

लकडाउनको अवधि थपिँदै गएपछि जिल्ला प्रशासनले केही दिनयता स्थानीय तहका समपुरक अनुदानका योजना र ठूला आयोजनालाई अनुमति दिएको हो।

व्यवसायीले निर्माण कार्य अघि बढाउन सम्बन्धित कार्यालयमार्फत् जिल्ला प्रशासनलाई अनुरोध गरेअनुसार अनुमति दिइएको र लकडाउनको मापदण्डअनुसार काम गराउँछौँ भनेर आएका सिफारिस र रकम फ्रिज हुने खालका योजनालाई अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताइन्।

जिल्लाका सबै स्थानीय तहले विकास निर्माणको कामका लागि अनुमति मागे पनि अतिआवश्यक र आर्थिक वर्षभित्रमा सम्पन्न हुने योजनाबाहेक अरू योजना निर्माणका लागि अनुमति दिन नसकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

गृह मन्त्रालयबाट अनुमति प्राप्त भएपछि नाग्म-रारा सडकको निर्माण कार्य सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएदेखि यहाँका विकास निर्माणका काम ठप्प छन्। रासस

प्रतिक्रिया दिनुहोस्