कोभिड-१९ महामारीः जोखिममा क्यान्सरका बिरामी

लन्डन। शल्यक्रिया र उपचार स्थगित हुँदा क्यान्सरका बिरामी समस्यामा परेको एक अध्ययनले देखाएको छ।

कोभिड-१९ महामारी नियन्त्रणमा लिने व्यस्तताका बीच समयमा उपचार नपाउँदा क्यान्सरका बिरामीले असमयमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको अध्ययनको निष्कर्ष छ।

त्यसका कारण क्यान्सरका बिरामी उपचार नै हुन नसक्ने अवस्थामा पुग्‍ने अध्ययनले औंल्याएको छ। र, हजारौं क्यान्सर रोगीले असमयमै ज्यान गुमाउनुपर्ने अवस्था आउने अध्ययन प्रतिवेदनमा उल्लेख छ।

कोभिड-१९ को महामारीविरुद्ध जुटेका अस्पतालहरूले क्यान्सरको उपचार सेवा बन्द गरेका छन्।

कोभिड-१९ को महामारीको भयानक अप्रत्यक्ष असर देखिन थालेको बेलायतस्थित इन्स्टिच्युट अफ क्यान्सर रिसर्च (आईसीआर)को अध्ययन प्रतिवेदनमा उल्लेख छ।

खासगरी, ट्युमरको शल्यक्रियामा ढिलाइ हुँदा क्यान्सर निको नै नहुने स्टेजमा प्रवेश गर्ने अध्ययनमा संलग्‍न स्वास्थ्यकर्मीको भनाइ छ। “कोभिड-१९ को संकटले राष्ट्रिय स्वास्थ्य सेवामा गम्भीर दबाब सिर्जना गरेको छ,” क्यान्सर जिनोमिक्सका प्राध्यापक क्लेयर टर्नबुलले भने, “क्यान्सर रोगीको शल्यक्रियालगायत उपचारमा गम्भीर समस्या देखिइसकेको छ।”

प्रतिक्रिया दिनुहोस्