कालिमाटी वृत्तका दुईजना प्रहरीमा कोरोना संक्रमण, वृत्त सिल गरेर कार्यरत प्रहरीको नमूना परीक्षण गरिँदै

काठमाडौं। महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुईजना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले दुईजना ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

संक्रमित हुनेमा एकजना प्रहरी नायव निरीक्षक र एकजना सिपाही रहेका छन्। लकडाउन कार्यान्वयन गराउन उनीहरु नियमित जसो फिल्डमा खटिने गरेका थिए।

उनीहरु दुवैजनामा कोरोना संक्रमण देखिएपछि प्रहरीले अहिले वृत्त सिल गरेको छ। प्रहरी कर्मचारीहरुलाई हिडडुल गर्न रोकिएको परिसर प्रमुख ज्ञवालीले जानकारी दिए।

“वृत्तका दुईजना कर्मचारीहरुमा संक्रमण देखिएपछि अहिले सिल गरिसकेका छौं”, उनले भने-“त्यहाँ कार्यरत अन्य प्रहरी सबैको नमूना परीक्षण गरेर उनीहरुलाई क्वारेन्टाइनमा पठाइने छ।”

यसअघि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवानलाई संक्रमण देखिएको थियो। त्यस्तै सशस्त्र प्रहरीका दुईजना कर्मचारीमासमेत संक्रमण देखि सकेको छ।

नेपाली सेनाको महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतनाका प्रमुख पृतनापति र सेनाकै एमबीबीएस डाक्टरमा पनि संक्रमण भइसकेको छ।

संक्रमित भएका सुरक्षाकर्मीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्