भारतबाट ट्रक चढेर आएका थिए झापा कचनकवलका १० जना कोरोना संक्रमित

काठमाडौं। झापाको कचनकवलमा कोरोना भाइरसको संक्रमित भेटिएका १० जना भारतबाट ट्रक चढेर आएको खुलेको छ।

रोजगारीमा भारत गएका उनीहरू भारतको विभिन्‍न शहरबाट एक साताअघि ट्रक चढेर नेपाल प्रवेश गरेको कचनकवल गाउँपालिकाका अध्यक्ष अन्‍जरा आलमले देखापढीलाई बताए।

भारतसँग सिमाना जोडिएको दक्षिणी झापामा पर्ने यो गाउँपालिका आजबाट 'सिल' गरिएको छ।

कोभिड-१९ का १० जना बिरामी भेटिएपछि पुरै गाउँपालिकामा आवतजावत बन्द गरिएको आलमले जानकारी दिए।

"हिजोसम्म पाँच वटा वडा 'सिल' गरेका थियौं तर जोखिम झन धेरै देखियो अहिले सात वटै वडामा कडाइ गरेका हौं", उनले भने।

गाउँपालिकाको १ देखि ५ सम्म पाँच वटा वार्ड भारतसँग जोडिएको छ।

कचनकवलमा ५ र ६ जेठमा १० जना संक्रमित भेटिएका हुन्। उनीहरू सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू हुन्।

भारतबाट फर्किएकाहरू एक सयभन्दा बढी क्‍वारेन्टाइनमा रहेको उनले बताए। उनका अनुसार बस्तीमा भने बिरामी नदेखिएकोले थप संक्रमण फैलिन नदिन सावधानी अपनाइएको छ।

अब भारतबाट अब फर्कनेहरूका लागि केचनाको महेन्द्ररत्न माविमा १०० बेडको थप क्वारेन्टाइन निर्माणको काम शुरू गरिएको छ।

प्रतिक्रिया दिनुहोस्