युरोपियन प्रतियोगिताको प्रतिबन्धविरूद्ध सिटीले कासमा गर्यो अपिल

काठमाडौं। म्यानचेस्टर सिटीले ८ जुनदेखि लागू हुने युरोपियन क्लब प्रतियोगितामा प्रतिबन्धको कारवाहीविरुद्ध कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस् (कास) मा अपिल गरेको छ।

‘क्लब लाइसेन्सिङ र फाइनान्सियल फेयर प्ले’ नियमको गम्भीर उल्लंघन गरेको भन्दै यूईएफएले गत फेब्रुअरीमा प्रिमियर लिगको साविक विजेता सिटीलाई कारवाही गरेको थियो। सिटीले नियम उल्लंघन नगरेको बताउँदै आएको छ। क्लबले भनेको छ, ‘‘यो सत्य होइन।’’

तीनमा दिनमा सुनुवाइ हुने बताइएको छ। र सुनुवाइमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ। कासले भनेको छ, ‘‘कोरोना भाइरस महामारीका कारण हिँड्न बन्देज लगाइएका कारण केही सुनुवाइ भिडियो कन्फरेन्समार्फत हुनेछन्।’’

यसअघि युरोपियन फुटबल महासंघ (युईएफए)को वित्तीय अनुशासन हेर्ने निकाय क्लब फाइनान्सियल कन्ट्रोल बडीको स्वतन्त्र न्यायिक समूहले सिटीले ‘‘आफ्नो खातामा प्रायोजन राजस्व रकम बढी देखाएको तथा सन् २०१२ र २०१६ मा ब्रेक इभनको सूचना युईएफमा पेश गरेको र क्लबले अनुसन्धानमा असहयोग गरेको’’ बताएको थियो।

त्यतिबेला सिटीले उक्त निर्णय निराशाजनक भए पनि आश्‍चर्यजनक नभएको बताएको भन्दै पक्षपाती निर्णयविरुद्ध अपिल गर्ने बताएको थियो।

नोभेम्बर २०१८ मा जर्मनीको एक पत्रिका डेर स्पाइगलमा ‘लिक डकुमेन्ट’ प्रकाशित भएपछि युईएफएले अनुसन्धान शुरू गरेको थियो। सिटीमाथि युरोपियन फुटबलको नियामक निकायलाई भ्रमित पार्दै प्रायोजन सम्झैताको मूल्य बढाएको आरोप थियो।

प्रतिक्रिया दिनुहोस्