ट्रम्पले गरे मलेरियाको औषधिको वकालत, भने- हाइड्रोक्सिक्लोरोक्वाइन लिनु ठीक हो

वासिङ्टन। सोमबारको नियमित प्रेस ब्रिफिङमा डेढ सातादेखि आफूले कोभिड-१९ बाट बच्‍न मलेरियाको औषधि खाइरहेको खुलासा गरेका अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार फेरि उक्त औषधिको वकालत गरेका छन्।

ह्वाइटहाउसभित्रै कोभिड-१९ का बिरामी भेटिएपछि उनले मलेरियाविरुद्ध प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्‍वाइन खान थालेका छन्। त्यो औषधि लिनु उचित भएको उनको तर्क छ। तर, क्लिनिकल परीक्षणबाट प्रमाणित नभएको औषधिको वकालत गरेकामा उनको आलोचना पनि भइरहेको छ।

र, उक्त औषधि सेवन गरेर कोभिड-१९ बाट असुरक्षामा अझ बढी पर्न सक्ने चेतावनी पनि उनलाई स्वास्थ्यकर्मीले दिएका छन्।

स्थानीय समयअनुसार मंगलबार क्याबिनेट बैठकका क्रममा ट्रम्पले हाइड्रोक्सिक्लोरोक्‍वाइन लिनैपर्ने बाध्यताबारे बेलीविस्तार लगाए।

“म सबैभन्दा बढी उपराष्‍ट्रपति माइक पेन्ससँग काम गर्छु। उनको एक नजिकको व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखियो। त्यसैले मैले हाइड्रोक्सिक्लोरोक्‍वाइन लिनु गलत कुरा होइन,” उनले भने।

संसारमा सर्वाधिक संक्रमण रहेका मुलुकमा तेस्रो नम्बरमा रहेको ब्राजिलबाट अमेरिकाको यात्रामा प्रतिबन्ध लगाउने तयारी भइरहेको उनले बताए। र, भेन्टिलेटर पठाएर ब्राजिललाई महामारीविरुद्ध लड्न सहयोग गरिने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्