मुख्यमन्त्रीका स्वकीय सचिवकाे अडिओ भाइरल, सीमावर्ती बजारसम्म आउने नेपाली झन् बढे

कैलाली। भारत हरियाणास्थित पानीपतबाट नेपाली बोकेको गाडी उत्तर प्रदेश कन्नौजमा आज दुर्घटना भयो। दुर्घटनामा १२ जनाभन्दा बढी नेपाली घाइते भए।

आगरा एक्सप्रेस मार्गमा भएको गाडी दुर्घटनामा पानीपतबाट धनगढी आउँदै गरेका नेपालीहरू परेको बताइएको छ।

स्वदेश फर्कने आशामा गाडी बुक गरेर नेपालीहरू आइरहेका थिए। घाइतेहरूलाई स्थानीय प्रहरीले अस्पताल पुर्‍याएको छ।

लामो समयको लकडाउनले भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपालीहरू अहिले नेपालको सीमासम्म आउने क्रम बढेको छ।

अहिलेसम्म करीब दुई हजार नेपाली कैलालीसँग सीमा जोडिएको सीमावर्ती भारतीय बजार पलिया आइपुगेका छन्।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवरको एउटा अडिओ भाइरल भएपछि नेपालीहरू सीमावर्ती बजारसम्म आउने क्रम बढेको हो।

सरकारले नाका खुला गरिसकेको भन्दै प्रवासमा रहेका नेपालीहरूलाई आउन आह्वान गरेको अडिओ अहिले भाइरल भइरहेको छ।

जसकारण भारतमा रहेका हजारौँ नेपालीहरू स्वदेश फर्कने आशामा गाडी बुक गरेर सीमावर्ती बजारसम्म आइपुगेका छन्।

भाइरल अडिओका विषयमा बुझ्न खाेज्दा मुख्यमन्त्रीका स्वकीय सचिव कुँवर भने सम्पर्कमा आउन चाहेनन्।

भारतको मुम्बई, दिल्ली, बेंग्लोर, गुजरात, राजस्थानलगायतका स्थानबाट झण्डै दुई हजार नेपाली पलिया आइपुगेको पलियाका व्यापारी तथा भाजपाका नेता रवि गुप्ताले बताए।

पलियामा निर्माण गरिएको क्वारेन्टाइनमा ४५० व्यक्तिलाई मात्र राख्न सक्ने क्षमता भएकाले अन्यलाई राख्न निकै समस्या भएको उनको भनाइ छ।

उनका अनुुसार पलियामा रहेका म्यारिज हल, गोदाम घरलगायतका स्थानमा नेपालीहरूलाई राखिएको छ।

हिजो पलिया आइपुगेका डडेल्धुराका भवानी साउँदले सबै नेपालीहरूलाई एकै ठाउँमा राख्दा संक्रमणको जोखिम बढेको बताए।

प्रतिक्रिया दिनुहोस्